पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह बैधानिक जनसत्ता भएको बताएका छन्।
धनुषाको सहीदनगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिला माओवादीले चलाएको जनसत्ताले बैधानिकता नपाएको भएपनि हालको स्थानीय तह बैधानिक जनसत्ता भएको दावी गरे।
‘हिजो हामीले जनसत्ता र जनसरकार सञ्चालन गरेका थियौं तर त्यसले वैधानिकता पाएको थिएन, स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्यही जनसरकार हो, बैधानिक र सबैले मान्यता दिएको स्थानीय जनसरकार’, उनले भने, ‘आम जनताले यो स्थानीय तहको महत्व बुझ्न नसके गलत तत्वहरुको हातमा स्थानीय सत्ता पुग्ने खतरा रहन्छ।’
उनले माओवादी परिवर्तनकारी शक्ति भएकाले यसपटक मत दिँदा विचार गर्न अपिल समेत गरे। ‘फेरि हाम्रा अधिकारका विरोधिहरुलाई मत दियौं भने त्यो आत्मघाती कदम हुनेछ’, उनले भने।
प्रचण्डले फेरी संबिधान संशोधन प्रस्ताव केन्द्रीय व्यवस्थापिका सदनमा ल्याईने बताएका छन्। उनले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको टिप्पणी गरे।
‘मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै कोशिश गरे । मतदानमा संशोधन प्रस्ताव लगियो तर पुराना राजामहाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन’ प्रचण्डले भने,‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरुको बहुमत भएको बेला फेरी प्रस्ताव ल्याएर मधेसी जनताको अधिकारको ग्यारेन्टी गरिनेछ, संविधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनसम्म ल्याइपु¥याउन सफल भइयो, संशोधन प्रस्ताव पारित हुन सकेन तर यो संविधान केहिपनि होइन भन्ने होइन, यसले सामाजिक न्याय, समावेशिता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता विषयलाई संस्थागत गरेको छ।’
उनले स्थानीय तहको निर्वाचन पञ्चायति र गाविस अध्यक्ष चुन्नेजस्तो नभएको भन्दै स्थानीय तह चुनावको महत्व बुझ्न अनुरोध समेत गरे।
प्रकाशित २९ भदौ २०७४, बिहिबार |
Leave a Reply