प्रहरी हाम्रो टोलमा अभियान शुरु

समतापोष्ट
  ६ आश्विन २०७४, शुक्रबार ११:२२

काठमाडौँ । गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले अभियानको एक कार्यक्रमबीच उद्घाटन गर्दै देशभर दुई हजार ५०० प्रहरी इकाईमा लागू भएको जानकारी दिए । गृहमन्त्री शर्माले प्रस्तुत गरेको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रअन्तर्गत रहेर आम नागरिकलाई केन्द्रविन्दुमा राखी यो अभियान शुरु गरिएको हो ।

अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ । देशभरको प्रत्येक समाजलाई टोलका रुपमा विकास गरी टोल सुधार समिति गठन गरेर आपराधिक गतिविधि नियन्त्रण गर्न र सामाजिक विकास कार्यमा सहकार्य गर्ने उद्देश्य राखिएको छ ।

गृहमन्त्री शर्माले आम नागरिकको शान्ति, सुरक्षा र समृद्धिको अभिलाषालाई पूरा गर्न अभियान ल्याइएको र सफल हुने विश्वास व्यक्त गरे । अभियान प्रहरी र समुदायबीच समन्वय गरी टोलटोलमा समन्वय समिति गठन गरीने जानकारी दिए ।

समाज र राष्ट्रियता बलियो बनाउन, सामुदायिक प्रहरीको अवधारणालाई थप परिमार्जन गर्न अभियान ल्याइएको उनको भनाइ छ । “घटनापछिको समाधान मात्रै होइन, घटना अघिको समाधानका लागि हाम्रो प्राथमिकता हो,’’ उनले भने ।

अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले इतिहासकै शान्तिपूर्ण निर्वाचन गर्न सफल भएको र अब हुने प्रदेश र सङ्घको निर्वाचन पनि त्यस्तै शान्तिपूर्ण हुने बताए । उनले संघीय प्रहरी ऐन तर्जुमा भइरहेको र छिट्टै संसदमा प्रस्तुत हुने जानकारी दिए ।

कार्यक्रममा गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रहरीलाई आधुनिक र जनमैत्री बनाउने लक्ष्यसहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान ल्याइएको बताए ।
गृह सचिव लोकदर्शन रेग्मीले मन्त्रालयले अघि सारेको ८४ बुँदे सुधार मार्गचित्रमा रहेको प्रहरीसँग सम्बन्धित बुँदा संगठन सुधारका लागि ‘म्याग्नाकार्टा’ नै हुने टिप्पणी गरे ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले यो अभियानले प्रहरी र नागरिक बीचको सम्बन्ध थप बलियो पार्ने विश्वास व्यक्त गर्दै अभियान देशभर एकसाथ शुरु भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *