सीमा रक्षाका सिपाही देवनारायण यादव रिहा

समतापोष्ट
  २२ आश्विन २०७४, आईतवार ००:५९

सप्तरी । भारतीय प्रहरीले यही असोज १५ गते पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उनका छोरा अजयलाई साधारण तारेखमा छाडिएको छ । शनिबार दिउँसो वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलाशले दुबै जनालाई साधारण तारेखमा रिहा गरेको हो ।

भारतको कुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन कुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि आइतबार बिहान बुवा देवनारायणले छोरालाई रिहा गराउन गएको बेला कुनौली थानाका इन्चार्ज दरोगा उमेश यादवसँग देवनारायणको चर्काचर्की र गाली गलौज नै परेपछि भारतीय प्रहरीले देवनारायणसमेतलाई पक्राउ गर्‍यो । भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई वीरपुर थानाले अपहरणको मुद्दा चलाएको थियो । यद्धपी देवनारायणमाथी अपहरण मुद्दा छ छैन् भने गौण नै रहेको छ । पक्राउ परेका वावुछोरा दुवैलाई सुपौल जिल्ला अन्तर्गत वीरपुर थाना पठाईएको थियो ।

अजयले केही महिना अघि १८ वर्षकी भारतीय युवतीसँग विवाह गरेका थिए । युवतीका परिवारले उजुरी गरेपछि अजय र उनका बाबुलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको थियो । तिलाठीका गाउँलेले भने यादव बाबुछोरालाई भारतीय प्रहरीले फसाएको बताएका थिए ।
स्मरण रहोस् गत वर्ष साउन १६ गते सप्तरीको तिलाठीस्थित खाँडो बाँधको विषयलाई लिएर स्थानिय तिलाठीवासी र भारतीय नागरिकबीच भएको विवादमा कुटपिटबाट यादव घाइते भएका थिए । त्यही कारण उनी र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको भनाई थियो । सीमा रक्षाका लागि लडेका देवनारायण र उनका छोराको रिहाईसँगै तिलाठीबासीमा खुशी छाएको छ । उनीहरु शनिबारै तिलाठीस्थित घरमा आइपुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *