काठमाडौं । न्युरोड, मख्खन गल्लीका साडी व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणका मुख्य योजनाकार प्रकाश लामिछानेलाई नेपाल ल्याइएको छ । दुबईमा लुकेर बसेका लामिछानेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको हो ।
फागुन ५ गते अग्रवालको अपहरणपछि गोपनीयता भंग हुने डरले लामिछाने आफ्नी प्रेमिका धादिङकी राधिका श्रेष्ठको हत्या गरी फरार भएका थिए । प्रहरीले अग्रवालको अपहण र राधिकाको हत्यारा पक्राउ गर्ने सिलसिलामा लामिछानेको मुख्य योजना रहेको खुलेको थियो । लामिछानेलाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशाखाको अनुरोधमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।
लामिछानेले अग्रवाललाई अपहरण गरी सुन्धारास्थित सनराइज गेस्ट हाउसमा बन्धक बनाएर राखी १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर छाडेका थिए । उनले आफूलाई सीआईबीको प्रहरी भन्दै अग्रवाललाई नियन्त्रणमा लिएका थिए । अग्रवालकै साडी पसलमा काम गर्ने श्रेष्ठले अग्रवाललाई गेस्ट हाउसमा बोलाएर लामिछानेको जिम्मा लगाएकी थिइन् ।
महाशाखाले तत्काल अग्रवालको अपहरणमा संलग्न भक्तपुर बागेश्वरीका किशोर गिरी र सरोज घोरासैनीलाई पक्राउ गरेको थियो । गिरी र घोरासैनीले फिरौती बुझेपछि भागबन्डा गरेर आफूहरू कोठा गएको तर लामिछाने र श्रेष्ठ सँगै गएको बयान दिएका थिए । श्रेष्ठको शव फागुन २० गते भक्तपुर बागेश्वरीस्थित मुहानपोखरीमा गाडिएको अवस्थामा फेला परेको थियो । श्रेष्ठलाई अग्रवालको अपहरण गर्न मात्रै लामिछानेले प्रेमको नाटक गरेको अनुसन्धान क्रममा खुलेको थियो । ।
प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखा प्रमुख एसपी किरण बज्राचार्यले लामिछानेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको बताइन् ।
Leave a Reply