बलात्कारपछि आँखा फुटाएकी १४ वर्षीय बालिकाको उपचार गर्न आर्थिक समस्या परेको छ । भोजपुर जिल्लाको आम्चोक ९ दुम्मानाकी बिक थरकी १४ वर्षीय दलित बालिकालाई स्थानीय सरस्वती मा वि कक्षा ८ मा अध्यानरत सन्तोष श्रेष्ठले शनिवार बलात्कार गरी हत्याको प्रयास गरेका थिए ।
बालिकालाई बलात्कारपछि हत्या गर्ने अभिप्रायले कुटपिट गरेका थिए । विकलाई श्रेष्ठले घास काट्न गएको बेला जबरजस्ती गरी खोल्सामा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि पीडितले दाजुलाई सुनाईदिन्छु भनेपछि श्रेष्ठले आँखामा ढुंगाले हानेर अचेत बनाएका थिए ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको हो । धरानमा पुगेका दलित अधिकारकर्मी दलमर्दन कामीको पहलमा आइतवार बेलुकादेखि उपचार सुुरु भए पनि पैसाको अभाव भएको छ ।
पहलमा १३ हजार ५ सय रुपैयाँ संकलन गरेर उपचार थालिएको छ । विकको एउटा आँखाले काम नगर्ने भएकाले निकाल्नुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन् । उनको सोमबार आखाँ झिकिने विकका आफन्तले बताए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च अभावमा उपचार हुन नसकेको बालिकाका दाजु धनबहादुर विश्वकर्माले बताए । बहिनीको उपचारार्थ सहयोगका लागि दाजु धनबहादुरले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
घटनापछि फरार रहेका श्रेष्ठलाई आइतवार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित १३ कार्तिक २०७४, सोमबार
Leave a Reply