मोफसलमा पहिलो पटक होम एण्ड अवेको आधारमा अशोक स्मृति बास्केटवल रनिङ्ग कप प्रतियोगिता हुने भएको छ । कार्तिक १८ गते देखि डेढ महिना सम्म प्रतियोगिता चल्ने आयोजक डायनामिक युथ क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
अशोक वास्फोर पूर्वाञ्चल बास्केटवल खेलाडी तथा प्रतियोगिताका संयोजक रवि वास्फोरका बुवा हुन् । उनको परिवारले प्रतियोगिताको लागि सहयोग गर्ने भएपछि अशोक स्मृति कपको आयोजना गर्न लागिएको आयोजक संस्थाका सचिव शिसिर पोख्रेलले बताए । डायनामिक युथ क्लव धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहने युवाहरुद्धारा स्थापना गरेको क्लव हो ।
आठ टिमको मात्र सहभागिता रहने प्रतियोगितामा प्रतियोगिहरुलाई होम एण्ड अवे अनुसार वेस्ट अफ थ्री माध्यमबाट प्रतिस्पर्धा गराइने प्रतियोगिता प्रचारप्रसार प्रमुख तथा पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले बताए । राईका अनुसार यस खालको होम एण्ड अवे प्रतियोगितामा सहभागि टिमले आफ्नो कोर्टमा र प्रतिस्पर्धी टिमको कोर्टमा गएर प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
प्रतियोगिताका उपाधि विजेताले नगद पचास हजार रुपैयाँ, उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका एमभिपि (मोस्ट भ्यालुएवल प्लेयर) को उपाधि बिजेताले नगद १० हजार रुपैयाँ र फाइनल खेलको म्यान अफ द म्याचले नगद ३ हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रवि वास्फोरले बताए ।
बास्केटवल खेलको विकास, खेलाडीलाई अवसर, नयाँ प्रतिभाको पहिचान साथै धरानबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरि राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिता आयोजना गरिएको संयोजक वास्फोरले बताए ।
बास्केटवलको सुरुवातनै नेपालमा पहिलो पटक धरानबाट भएको र धरानका खेलाडी र प्रशिक्षकले राष्ट्रिय प्रतियोगिताको उपाधि धरानलाई दिलाइसकेको आयोजकले जानकारी गराए । साथै प्रशिक्षक तथा खेलाडी दुवै राष्ट्रिय टिममा पर्न सफल भइ अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि भइसकेको पनि जानकारी गराए ।
चार लाख ५० हजार रुपैयाँ अनुमानित लागतमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन र समापन खेल दुवै धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानको बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा जिल्ला बास्केटवल संघ, सुनसरीको प्राविधिक सहयोग रहनेछ
प्रकाशित १३ कार्तिक २०७४, सोमबार
Leave a Reply