प्रविधिको विकास संगै अब नेपालमा चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी रहेको छ । नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ।
नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘हाम्रोतर्फबाट तयारी पूरा गरी गत हप्ताको अन्त्यतिर चाइना टेलिकमलाई पत्राचार गरिसकेका छौं,’ अधिकारीले भने, ‘उसको स्वीकृतिपछि व्यवसायी सुरुवात गर्न बाटो खुल्ने छ ।’
नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनु पर्नेछ । यही स्वीकृतिका लागि टेलिकमले पत्राचार गरेको हो । रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो । रि–रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कात्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सिटिजी) बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुल मार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने विषयमा गत वर्ष मंसिरमा सम्झौता भएको थियो । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने टेलिकमले जनाएको छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय अन्तरआबद्धताका लागि यो अर्को महत्वपूर्ण र समानान्तर विकल्प हुनेछ ।
यसअघि नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएको थियो । अब चिनियाँ बाटोबाट समेत नेपाल अन्तर्राष्ट्रिय इन्टरनेटमा आवद्ध हुनेछ । भारतबाहेक चीनतिरको वैकल्पिक रुट थप भएपछि यसबाट टेलिकमले लाभ लिन सक्ने विश्वास लिइएको छ । चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।
भारतको इन्टरनेट प्रयोग गर्दै आएको नेपालले अब भने चिनियाँ इन्टरनेट सस्तो र सर्वसुलभ मुल्यमा चलाउने भएको छ ्रत्यसो त चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गर्दै नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
Leave a Reply