कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् ।
कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बीनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी भएकी हुन् ।
दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा आफ्ना पति एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधन हुँदासमेत राम्ररी प्रचारप्रसारको कार्य गर्न नपाएकी जनताको साथ र समर्थन पाएर विजयी भएकी हुन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भई ३८ हजार ४ सय ६८ मत ल्याई मगर विजयी भएकी हुन ।
उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका थिए । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।
प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गरेकी हुन् ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बनेकी हुन् ।
Leave a Reply