मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै ९,१६५ निर्वाचन क्षेत्रको मतगणना सकिएको आयोगले जनाएको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको छ ।
नेकपा एमालेका ८०, नेकपा माओवादी केन्द्रका ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वा्चित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, र राष्ट्रिय प्रजातन्त्र पार्टीका १, प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा पाँच जना महिला निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका १६८, नेकपा माओवादी केन्द्रका ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालका २, राष्ट्रिय जनमोर्चाका २, नेपाल मजदुर किसान पार्टीका १ उम्मेदवार निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ १७ जना महिला उम्मेदवार विजयी भएका छन् ।
आयोगका अनुसार हालसम्म ५६ लाख ८९ हजार ८५९ मतगणना सम्पन्न भएकामा नेकपा एमालेले १९ लाख ८९ हजार ५००, नेपाली काँग्रेसले १९ लाख चार हजार २०८, नेकपा माओवादी केन्द्रले ७ लाख ६८ हजार ३७८ र संघीय समाजवादी फोरम नेपालले २ लाख ५२ हजार ६९८ मत प्राप्त गरेका छन् ।
दिउँसो १२ बजेसम्ममा राष्ट्रिय जनता पार्टी, नेपालले १ लाख ८९ हजार २०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३२ हजार ५००, विवेकशील साझा पार्टीले १ लाख २३ हजार ६२, नयाँशक्ति पार्टी, नेपालले ५६ हजार ५८४, राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिकले ४४ हजार १७५ र राष्ट्रिय जनमोर्चाले ३५ हजार ९७ तथा अन्य दलले १ लाख ९४ हजार ४५३ मत प्राप्त गरेका आयोगले जनाएको छ ।
Leave a Reply