महिला समूहमा आबद्ध महिलाहरु आत्म निर्भर बन्नका लागि तरकारी खेती गर्न थालेका छन् । श्रीमान वा घरमुलीप्रति आश्रित यहाँका महिलाहरु पछिल्लो समय स्वाबलम्बि बन्नका लागि तरकारी खेतीमा लागेका हुन् । महिला समूहमा आबद्ध महिलाहरु करेसाबारीमा तरकारी खेती गरेर जीविकोपार्जन गर्ने गरेका हुन् ।
एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपालद्धारा संचालित द महिला नेटवर्क परियोजना अन्तर्गत गठन गरिएका महिला समूहमा आबद्ध बिपन्न परिवारका महिलाहरु करेसाबारीमा तरकारी खेती गरेर अहिले आत्म निर्भर बन्न थालेका हुन् । करेसाबारीमा प्रसस्त तरकारी फलेपछि उनिहरुले अन्य जमिनमा पनि ब्यवसायिक रुपमा तरकारी खेती गरि रहेका छन् ।
तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि दैनिक घर खर्च चलाउन सजिलो भएको दिपायल सिलगढी नगरपालिका ७ कोईरेली पाकरीकी धनादेबी बिष्टले बताईन् । गरिबीका कारण भारतको पंजाबमा चौकीदारी गर्दै आएका श्रीमानले पठाएको घरखर्चको भरमा जीविकोपार्जन गर्दै आएको आफूहरु करेसाबारीमा तरकारी फलाएर राम्रो आम्दानी गर्न थालेको पाकरीकै देवा बिष्टले बताईन् ।
श्रीमानले ईन्डियामा रातभर चौकीदारी गरेर कमाएको पैसाले घरखर्च टार्न धौधौ पर्ने र बालबच्चालाई पढाउन समेत गाह्रो भएका कारण आफू तरकारी खेतीमा लागेको उनको भनाई छ । नजिकैको सिलगढी बजारमा तरकारी बेचेर घरखर्च र बालबच्चालाई शैक्षिक सामाग्री किन्न सहयोग पुगेको उनले बताईन् । अब श्रीमानसंग खर्च माग्नु पर्ने अबस्था छैन्,तरकारी बेचेर बचत समेत गरेको उनले बताईन् । पाकरीका महिलाहरुले एक बर्षदेखी निरन्तर रुपमा करेसाबारी र थोरै जमिनमा तरकारी खेती गर्दै आएका छन् ।
करेसाबारीको तरकारीको एक सिजनमा बढीनै हुन्छ । यहाँका महिलाहरुले बर्षमा तरकारी बेचेर तीन हजारसम्म आम्दानी गर्ने गरेका छन् । पाकरीमा तरकारी खेती गर्दै आएका महिलाहरुले उत्पादन गरेको तरकारी दैनिक सिलगढी बजारमा बिक्रि गर्ने गरेका छन् । पाकरीका महिलाहरु प्रतिनिधि पात्रमात्रै हुन् । मुडेगाउँ,मुडभरा,कपल्लेकी,दुर्गामाण्डौं,भुमिराजमाडौंका रिफ्लेक्ट सर्कलमा आबद्ध महिलाहरु पनि तरकारी खेतीमा संलग्न रहेको द महिला नेटवर्क परियोजनाका संयोजक महेश परियारले बताए ।
महिलाहरुलाई आत्म निर्भर बनाई उनिहरुको जीविकोपार्जनमा सहज होस भन्ने उदेश्यले द महिला नेटवर्क परियोजना संचालन गरिएका कार्यक्षेत्रका चार समूहमा एकघर एक करेसाबारी अभियान संचालन गरिएको परियोजना संयोजक परियारले बताए ।
अभियान अन्तर्गत ब्यवसायिक तरकारी खेती तालिम र उन्नत जातका तरकारीका बिउबिजनहरु सहयोग तथा सिंचाईको ब्यवस्थाका लागि पानीको टंकि निर्माण,प्लाष्टिक पाईप र प्लाष्टिक टर्नेल निर्माण सहयोग गरेको संयोजक परियारले बताए । परियारका अनुसार महिलाहरुले खेर गएको घर वरपरको करेसाबारीमा तरकारी खेती गरेर घरखर्च र छोराछोरीको पढाई खर्च पु¥याई रहेका छन् ।
Leave a Reply