स्थानीय एक माध्यमिक विद्यालयका प्रधानाध्यापक कुश्मा बजारमा भएको बिहेमा गाला फुलाई–फुलाई सनही बजाइहेका थिए । उनलाई धेरैले ‘हेडसर’ अर्थात् प्रधानाध्यापक चक्रबहादुर पुर्जाका रूपमा चिन्छन् ।
सदरमुकामको व्यस्त बजारबीच सहनाई फुकिरहेका उनले धेरैको ध्यान आफूतिर खिचिरहेका थिए । अघिपछि बजारमा विद्यालयको समस्या लिएर तलमाथि गरिरहने पुर्जा बिहेमा भने निर्धक्कसँग नौमती बजाइरहेका देखिन्थे । उनी र उनको समूहले नौमती बाजा बजाएर धेरैलाई मनोरञ्जन दिइरहेको पनि थियो ।
पर्वत जिल्लामा पछिल्लो समय ‘मगरबाजा’ भनेर ख्याति कमाउन सफल उनको समूहले जिल्ला मात्र नभएर छिमेकी जिल्लामा समेत नौमती बाजा बजाउने गरेको छ । निश्चित पारिश्रमिक लिएर उनीहरू विवाह उत्सव तथा शुभकार्यमा बाजा बजाउने गर्छन् । पुर्जा जिल्लाको जलजला गाउँपालिका–९ बनौंमा रहेको बनौं माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । १ माघ २०५९ देखि शिक्षण पेशा शुरु गरेका उनी १६ चैत २०५९ मै प्रधानाध्यापक बनेका थिए । १५ वर्षदेखि हेडसर रहेका उनले नौमती बाजा बजाउन लागेको भने जम्मा ६ वर्ष मात्र भयो ।
विद्यालय खुलेको दिनमा उनी सधैं विद्यालय जान्छन् र नियमित कार्य गर्छन् । तर जब सार्वजनिक बिदाको दिन पर्छ उनी आफैं बाजागाजा बोकेर बिहे तथा शुभकार्यमा हिँड्ने गर्दछन् । ‘म नौमती बाजाको अत्यन्त पारखी हुँ । जहाँ बाजा बजे पनि जाऊँजाऊँ लाग्छ,’ उनले भने, ‘सुरुमा परियार थरका मानिसहरूले मात्र नौमती बजाउने गर्दथे । हामी रमाइलो हेर्न जान्थ्यौं । तर, बाजा बनाउने एकाध मानिस जाँडररक्सी सेवन गर्ने र होहल्ला गरी शुभकार्य नै अशुभ गराउनेसम्मको हर्कत हुने गरेको भेटेपछि आफैं बाजा बनाउन समूह निर्माण गरेको हुँ ।’
नौमती बाजा मगर समुदायले बजाउने गरेपछि यसको माग पनि बढ्न थालेको छ । शहर–बजारमा आधुनिक बाजा भित्रिनै लाग्दा पुर्जाले चलाएको अभियानबाट नौमती बाजा मात्र होइन, स्थानीय गीत–संगीतको समेत संरक्षण र प्रवद्र्धन भइरहेको छ । ‘हाम्रा कला संस्कृति लोप हुने अवस्था थियो, मगरहरूले नौमती बाजा संरक्षणको अभियान चलाएपछि खुसी लागेको छ,’ पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने भने, ‘गाउँको गहनाको रूपमा रहेका बाजालाई संरक्षण गरेपछि हामीले चाहिएको बेला नौमती बजाउन पाएका छौं ।’
संस्कृति बचाउने मात्र होइन, टमक्क मिलेको मगर पोशाकमा महिला र पुरुष दुवै मिलेर नौमती बाजा बजाउने तथा नाच्ने–गाउने गर्छन्, बनौंको बाजा समूहमा । हेडसर पुर्जालाई सार्वजनिक बिदा नपरेको दिन भने समूहका अन्य साथीहरूलाई बिहे तथा शुभकार्यमा बाजा बजाउन पठाउने गर्दछन् ।
उनको समूहमा महिला र पुरुष दुवै संलग्न हुने गरेका छन् । बाजा समूहले बजाउने मात्र होइन, नाच्ने, गाउने कामसमेत गर्दछ । हेडसर पुर्जाले विद्यालयको व्यवस्थापन गर्ने मात्र नभई बचेको समयमा सनही, ट्याम्को, ढोलकी, दमाहा, झ्यालीलगायतका बाजा बजाउन निपूर्ण रहेका छन् । उनको विद्यालयमा २ सय ३२ विद्यार्थीका साथमा १२ जना शिक्षक छन् भने बाजा समूहमा ११ जना छन् । जनतापोस्टबाट
Leave a Reply