प्रधानमन्त्री कार्यालयले कैलालीको घोडाघोडी नगरपालिका–५ मा बोक्सीको आरोपमा कुटपिट भएको घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयबाट आइतबार जारी विज्ञप्ति जारी गर्दै कुटपिटमा परेकी राधा चौधरीको सबै उपचार खर्च सरकारले व्यहोर्ने जनाएको छ । ‘हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ ।’
महिला दिवस मनाइरहेको दिन नै घटेको सो घटनाले देशकै बेइज्जत भएको भन्दै विज्ञप्तिमार्फत आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको बताइएको छ । ‘नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ ।’
फागुन २४ गते बिहीबार चौधरीलाई बोक्सीको आरोप लगाउँदै स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । कुटपिट हुँदा स्थानीयबासी समेत मुकदर्शक बनेका थिए ।
Leave a Reply