गृहमन्त्री बादलको आक्रोश : कुकुरलाई ओछ्यानमा सुताएर मान्छेलाई बाहिरै राख्ने हर्कत स्वीकार्य छैन

समतापोष्ट
  ६ चैत्र २०७४, मंगलवार १५:४१

गृहमन्त्री रामबहादुर थापा बादलले जातीय विभेदमा संलग्न हुने जो जोही कोहीलार्इ कडा कारवाही हुने बताएका छन् ।

राजधानीको भृकुटिमण्डपस्थित् पर्यटन बोर्डमा अन्तरपार्टी दलित महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले संसारमा जातीयको आवरणमा हुने हिंसाको अन्त्य लागि विश्व जुटिरहेको बताए ।

देशमा ठूलो परिवर्तन पछि संविधानमा धेरै अधिकार सुरक्षित भएको बताउँदै मन्त्री बादलले व्यवहारमा ती अधिकारहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने बताए । नेपाली समाजमा कुकुरलाई ओछ्यानमा सुताउने मानिसलाई ढोका भित्र छिर्न नदिने परम्परा रहेको भन्दै मन्त्री बादलले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।

‘फरक जातिसँग विहे गरेकै कारण मारिनु पर्ने, धारा, मन्दिरमा छुन, पस्न नमिल्ने,’ प्रतिप्रश्न गर्दै मन्त्री बादलले भने, ‘कुकुरलाई ओछ्यानमा सुताउने मानिसलाई ढोका भित्र छिर्न नदिने यस्तो खाले हर्कत कसैलाई स्वीकार्य हुँदैन।’

गृहमन्त्रालय पनि जातीय विभेदका हिंसात्मक घटनाहरुको अन्त्यको लागि अभियान चलाईरहेको भन्दै मन्त्री बादलले यसमा अन्तर पार्टी दलित महिला सञ्जाले साथ दिनुपर्ने बताए ।

‘संसारमा जातीयको आवरणमा हुने हिंसाको अन्त्य लागि विश्व जुटिरहेको छ, गृहमन्त्रालय पनि जातीय विभेदका हिंसात्मक घटनाहरुको अन्त्यको लागि अभियान चलाईरहेको छ,’ उनले भने, ‘यसमा अन्तर पार्टी दलित महिला सञ्जाले साथ दिनुपर्छ, म विभेदका घटनामा संलग्नलाई कठोर कारबाही गर्न तयार छु, ।’ खबरडबलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *