१६ बर्ष पछि साफेंबगरमा विमान अवतरण

समतापोष्ट
  १३ जेष्ठ २०७५, आईतवार ११:४९

द्धन्द्धकालदेखी बन्द अछामको साँफेबगर बिमानस्थलमा १६ वर्ष पछि विमान अवतरण गरेको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि गत शुक्रबार समिट एयरको १९ सिट क्षमताको विमानले परीक्षण उडान गरेको हो । १६ वर्ष पछि गरिएको परिक्षण उडान सफल भएको छ । परिक्षण उडानका लागि साँफेबगर बिमानस्थलमा विमान अबतरण भएपछि अछामबासी निकै खुशी भएका थिए ।

सिमिकोटबाट नेपालगन्ज फर्कँदै गरेको विमानले साँफेबगरमा टचडाउन गरेको थियो। साँफेबगरमा १६ बर्षपछि विमान अवतरण भएसँगै क्याप्टेन एडी शेर्पा लगायत चालकदलका सदस्यलाई स्थानीयहरुले फूलमालाले भब्य स्वागत गरेका थिए। द्वन्द्वकालमा ध्वस्त भएको विमानस्थल पुनर्निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले ०७३ चैतमा ११ करोड १७ लाखको ठेक्का दिएको थियो।

शुक्रबार गरिएको टेस्ट फ्लाइट सफल भए सँगै प्राधिकरणले चाँडै नियमित व्यावसायीक उडानका लागि सो विमानस्थल खुला गर्दै छ। नेपालमा ५० वटा आन्तरिक विमानस्थल भए पनि बिहीबार बाट खोलिएको राजविराजको विमानस्थल सँगै ३१ वटा संचालनमा आएका छन् भने यो विमानस्थलबाट खुला भए पछि त्यसको संख्या ३२ पुग्ने छ।

समिट एयरको विमान बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमानस्थलमा अवतरण गरेको थियो । तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएका थिए । बीचमा केही समय सञ्चालनमा आए पनि २०६२ सालदेखि पूर्णरूपमा बन्द थियो । निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ । मानस्थलको ५ सय मिटर लम्बाइ र ८० मिटर चौडाइ भागमा कालोपत्रे गरेको छ । भ्याटसहित ११ करोड ५० लाख रुपैयाँको लागतमा कालोपत्रे भएको हो ।

पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । प्रदेश नं।७ को २ वटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल बजारमा गरी २ स्थानमा विमानस्थल छ । जिल्लामा २ वटा विमानस्थल भए पनि सञ्चालनमा नहुँदा स्थानीयले लाभ लिन पाएका छैनन् । विमानस्थल सुचारु भएपछि आवतजावतमा सजिलोका साथै उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्नेमा कमी आउने स्थानीयको भनाइ छ ।

२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने अझै पहल नहुँदा गौचरणमै सिमित रहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *