नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमार्फत प्रदेशसभा सदस्य बनेकी उमादेवी बादी प्रदेशको बैठकमा सहभागी हुन आफ्नै घरबाट आउने जाने गर्छिन् । प्रदेश सभा बैठक बस्ने स्थल प्रदेश–७ को अस्थायी राजधानीबाट उमादेवी बादीको स्थायी बसोबास रहेको क्षेत्र करिब एक सय किलोमिटरको दूरीमा रहेको छ । धनगढीमै बस्न चाहे पनि कोठा भाडामा नपाएपछि उनी अहिले आफ्नै घरबाट बैठकमा आउने जाने गरिहरेकी छन् ।
कैलालीको पूर्वी टीकापुर नगरपालिकाबाट बैठकमा सहभागी हुन धनगढी पुग्ने गरेको बताउँदै धनगढीमा पाँच महिनादेखि कोठा खोज्दाको अनुभूति सुनाउँदै भनिन्, ‘धनगढी नै बस्ने भनेर कोठा खोज्न गएँ, प्रदेशसभा सदस्य भन्ने थाहा पाएपछि मजाले बसाउनुभयो, नाम र थर सोध्नुभयो मैले बादीभन्दा अल्मलिएर उहाँले कोठा त छैन भन्नुभयो ।’
एक दुई ठाउँमा मात्रै नभई दर्जनौं स्थानमा कोठा खोजेको उनले बताइन् । ‘नाम थर थाहा पाएपछि कसैले कोठामा त सामान छ भन्छन्, कसैलै आजै छोरा आउने भनेको छ भन्छन्, कसैले घरबेटी विदेश छन् केही समयपछि सम्पर्क गर्नुहोस नि भन्छन् ।’ उनले भन्दै गइन् ‘भेषभूषा हेर्दाखेरी लौ बस्नुहोस् भन्नुहुन्छ, परिचयपछि फरक व्यवहार गर्नुहुन्छ ।’ उमादेवी अहिले बैठकमा सहभागी हुन आफ्नै घरबाट आउने गरेकी छन् ।
सधैँ सार्वजनिक सवारीमै आउँछु, कहिलेकाहीँ बिहान बैठक हुँदा धनगढीकै होटलमा बस्ने गरेकी छु,’ उनले भनिन् । नेपाल कम्युनिस्ट पार्टीकी अर्चना गहतराजको पीडा पनि उमादेवी बादीको भन्दा फरक छैन। गहतराजलाई तत्कालीन एमालेले डोटीबाट समानुपातिकमा प्रदेशसभा सदस्य बनाएको हो । लामो समय धनगढीमा कोठा खोज्न भौतारिएकी गहतराज अहिले एकजना राना चौधरीको घरमा बसिरहेकी छन् ।
‘दलित भन्ने थाहा पाएपछि कसैले कोठा दिएनन्, अहिले गहतराज भनेकी छु, घरबेटीलाई गहतराज भन्ने थाहा छैन ।’ उनले भनिन् । सुरुमा थर लुकाएर भाडामा बस्न थालेको उनले बताइन् । ‘कुकुरलाई त बरु घरभित्रै सँगै राख्छन्, हामीलाई त त्यो दर्जा पनि दिइएन ।’ कोठा खोज्दाको हैरानी सम्झँदै उनले भनिन् । यस विषयमा संसद्मा कुरा उठाउने योजना रहेको उनले सुनाइन् । प्रदेश सातमा सातजना दलित प्रदेशसभा सदस्य रहेका छन् । ६ जना समानुपातिक तर्फबाट आएका हुन् भने एकजना प्रत्यक्ष निर्वाचित छन् ।
रासस
Leave a Reply