आज २१ जून, अर्थात् चौथो अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्र संघले २१ जुनलाई योग दिवसका रूपमा घोषणा गरेपछि विविध कार्यक्रम गरेर नेपालमा पनि यो दिवस मनाउन थालिएको छ ।
यसैक्रममा चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले पतञ्जलि योगपीठको सहकार्यमा आज बिहान सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाह,आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहरा,सामाजिक विकास मन्त्री दिर्घ सोडारी,भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा,उधोग पर्यटन बन तथा वातावरणमन्त्री माया भट्ट,भूमी व्यवस्था,कृषि तथा सहकारीमन्त्री बिनिता चौधरी र पतञ्जलि योगपीठका योग प्रशिक्षक लगायत सहभागि भएका थिए ।
विहान ७ बजे सामाजिक विकास मन्त्रालयको प्राङ्घढमा आयोजना गरिएको कार्यक्रममा पतञ्जलि योगपीठका योग प्रशिक्षकले योग अभ्यास गराएका थिए । मुख्यमन्त्री भट्ट,मन्त्रीहरु र सहभागि अन्य ब्यक्तिहरुले दुई घण्टासम्म बिभिन्न आसनका योग अभ्यास गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री भट्टले ७ नं.प्रदेशलाई आयुर्बेदिक उपचार एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान प्रदेश सरकारले आर्थिक बर्ष ०७५/०७६ को बजेटमा समाबेश गरेको बताए ।
कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि प्रदेशलाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताए । मुख्यमन्त्री भट्टले आदीमकालदेखी ऋषिमुनीहरुले सुरु गरेको योग अभ्यास अहिले हरेक ब्यक्ति आफू निरोगी बन्नका लागि योग गर्न थालेको बताए।
उनले शारीरिक अभ्यास, उपचार पद्धति, योग शिक्षालाई सन्तुलित रुपमा जीवन पद्धति नै बनाउने कार्यमा यस दिवसले प्रेरणा दिएको धारणा राखे ।
“योगको महत्व विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ । पूर्वीय सभ्यता एवं जीवनदर्शनको अमूल्य सम्पदा योगलाई आज विश्वले जुन महत्वपूर्ण स्थान दिएको छ त्यसको आधारमा यसको महत्वलाई आ–आफ्ना ठाउँबाट प्रचारप्रसार गरेर सबैलाई योगमा आबद्ध गराउनुपर्दछ,” उनले भने ।
भट्टले योग आफूले आफैँलाई बुझ्ने परमसाधनाको सूत्र भएको उल्लेख गर्दै योगको अन्तर्मनसँग मात्रै होइन, आत्मासँग पनि त्यत्तिकै घनिष्ट सम्बन्ध रहेकाले योगको अनुशीलनबाट जीवनलाई सर्वोत्कृष्ट बनाउन सकिने धारणा राखे।
भारतले सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा जुन २१ अर्थात आजकै दिनलाई विश्वयोग दिवसको रुपमा मनाउने प्रस्ताव गरेको थियो र उक्त प्रस्ताव अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए । त्यसैबेला देखि नै योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।
Leave a Reply