डोटीको जोरायल गाउँपालिकाले अभियानकै रुपमा सार्बजनिक निकायको सामाजिक परीक्षण गर्ने अभियान थालेको छ । पहिलो चरणमा गाउँपालिका र ६ वटै वडाले वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भईसकेको छ भने पहिलो चौमासिक भित्र जनप्रतिनीधिको उपस्थितीमा सबै निकायको वार्षिक सामाजिक परीक्षण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । डोटी जिल्लामा अभियानकै रुपमा सामाजिक परीक्षण गर्ने जोरायल गाउँपालिका पहिलो स्थानीय तह भएको छ ।
गाउँपालिकाले सुशासन प्रबद्र्धनलाई पहिलो प्राथमिकता दिएको छ । गाउँपालिकाले मात्रै सुशासनको अभ्यास गरेर पुग्दैन । गाउँपालिकामा रहेका सबै सार्बजनिक निकायले पनि सुशासनको अभ्यास गरि जनतामा सुशासनको अनुभूति दिलाउनु पर्दछ , जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनु भयो ।
गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका सबै स्थानीय तहमा रहेका सार्बजनिक निकायमा अनिवार्य रुपमा सूचना अधिकारी नियुक्त गर्ने, सबै निकायमा नागरिक वडापत्र राख्ने, नीतिगत ब्यवस्था अनुसार वार्षिक सामाजिक परीक्षण, हरेक चौमासिकमा सार्बजनिक सुनुवाई गर्ने, हरेक योजनामा अनिवार्य रुपमा सार्बजनिक परीक्षण गर्ने, गुनासो पेटिका राख्ने, गाउँपालिकाको वेवसाईट र फेसबुक पेजलाई ब्यवस्थित गरि सूचनामा पहुँच पुर्याउने लगायतका बिषयमा कार्ययोजना समेत निर्माण गरिसकेको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत समीर भण्डारीका अनुसार गाउँपालिकाबाट स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सुशासनका गतिबिधिहरुलाई ब्यवस्थित रुपले संचालन गर्न सुशासन प्रबद्र्धन समिति गठन गरिएको छ ।
नेपाल सरकारले जारी गरेका सुशासनसंग सम्बन्धित ऐन, कानून, निर्देशिका र कार्यबिधिहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने र गाउँपालिकाले स्थानीय स्तरमा सामाजिक परीक्षण कार्यबिधि लगायतका नीतिहरु निर्माण गरिसकेको छ । गाउँपालिकाले निर्माण गरेको सुशासन कार्ययोजनालाई ब्यवस्थित रुपमा कार्यान्वयन गर्नका लागि युनाईटेड मिसन टु नेपाल र सिड नेपाल डोटीद्धारा जोरायल गाउँपालिका संचालित सुशासन परियोजनाले सहजिकरण गरिरहेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताउनु भयो ।
Leave a Reply