शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

समतापोष्ट
  २७ आश्विन २०७५, शनिबार १३:१६

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ। कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन्।

बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए। गत वर्ष कृष्णसारको सङ्ख्या ६० रहेको थियो। गत वर्ष कृष्णसारका बयस्क भाले १८, पोथी १६, अर्धबयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महीनासम्मका पाठापाठीको सङ्ख्या १६ रहेको थियो।

अघिल्लो वर्ष कृष्णसारको सङ्ख्या यहाँ ४५ मात्रै रहेको थियो। जसमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ रहेको थियो। विसं २०६९ असोजमा नेपालगञ्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुर स्थानान्तरण गरिएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनास र चोरीशिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ।

नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ। एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ। घाँसका फाँटहरूमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङ्गको हुन्छ। यसले छ÷छ महीनामा बच्चा जन्माउने गर्दछ । वर्षमा अन्य जनावरजस्तो कृष्णसारको सिङ झर्दैन। बयस्क नभएसम्म भाले र पोथीको रङ्ग खैरो हुन्छ। रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *