महिलाहरुको कार्यबोझमा कमी ल्याउन शिशु स्याहार केन्द्र स्थापना

समतापोष्ट
  ३ मंसिर २०७५, सोमबार १३:१४

महिलाहरुको कार्यबोझमा कमी ल्याउने उद्धेश्यले डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ७ भूमिराजमाण्डौमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

एक्शन एड नेपालको सहयोगमा सम विकास केन्द्र (ईडीसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र के.आई.सिंह गाउँपालिका वडा नंं. ७, को सहयोगमा शिशु स्याहार केन्द्र स्थापना गरिएको ईडिसिका कार्यक्रम संयोजक महेश परियारले जानकारी दिए ।

उनले भने–“३ वर्ष देखि ५ वर्ष मुनिका वालबालिकाहरुको स्याहार तथा उनिहरुको सिकाई ज्ञान अभिबृद्धि गर्न र ति वालबालिकाका आमाहरुको कार्यबोझमा कमि ल्याई उनिहरुलाई उत्पादनमुलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको हो ।”

के.आई.सिंह गाउँपालिका वडा नंं. ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालयको जमीनमा ईडिसिको ६ लाख ३८ हजार १ सय ५५ र उक्त वडाको २ लाख गरी जम्मा ८ लाख ३८ हजार १ सय ५५ रुपैंया लगानीमा केन्द्रको २ कोठे भवन निर्माण गरि कक्षा सञ्चालन भईसकेको वडा नं. ७ का अध्यक्ष हर्क बहादुर बिष्टले जानकारी दिए ।

उक्त केन्द्रमा हाल ३० जना वालबालिकाहरु भर्ना भई कक्षा सञ्चालन भईसकेको लाटाकलारै आधारभूत विद्यालयका प्रधानाध्यापक गगन बलायरले बताए ।

सो वडाका कोटीगाउँ, बलायर गाउँ र थलीका दलित, विपन्न परिवारका बालबालीकाहरुलाई लक्ष्यित गरी स्थापित केन्द्रको औपचारिक उद्घाटन बाँकी रहेको र उद्घाटनपश्चात सो भवन वडा कार्यालयमार्फत समुदायमा हस्तान्तरण गरिने र केन्द्र संचालनको जिम्मेवारी लाटाकलारै विधालयलाई दिईने जनाईएको छ ।

उक्त शिशु स्याहार केन्द्रमा सन् २०२० को अगष्टसम्म वालवालिकाहरुको बसाई, मनोरञ्जन, शैक्षिक वातावरण तथा खाजा व्यवस्थापन र दुईजना सहयोगी कार्यकर्ताको व्यवस्था ईडीसीले गर्नेछ । तत्पश्चात सम्बन्धीत वडा, समुदाय, विद्यालयको सहकार्यमा केन्द्र संचालन हुने जनाईएको छ ।

लाटाकलारै आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ । डोटीमा सबै कक्षामा अंग्रजी माध्यमबाट पढाई हुने लाटाकलारै एक मात्र सामुदायिक विद्यालय हो ।
यस विद्यालयमा कक्षा १ देखि नै कम्प्युटर शिक्षा पढाई हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *