२२ बर्षदेखी कपाल काट्ने पेशा अंगाल्दै आएका रौतहटका बिजुली ठाकुरले डेढ बर्षदेखी काठमाडौंमा सैलुन संचालन गरेका छन् । हाल सौगल, पाटनमा सैलुन पसल राखेर बसेका उनले आफ्नो व्यवसायको बारेमा केहि जानकारीहरू दिंदै गरेको कुराकानी बेरोजगार भई बसेका युवाहरुको उत्प्रेरणाका लागि तल प्रस्तुत गरिएको छ :-
१. यो व्यवसाय किन सुरु गर्नु भयो ?
बाह्र वर्षको उमेरमा बुबा बित्नु भएपछि घरको सबै जिम्मेवारीहरू मेरै काँधमा आइपर्यो, त्यसैले यो व्यवसायमा लागेको हुँ |
२. यो व्यवसाय सुरु गर्न कति लगानी गर्नु भयो ?
मैले यो व्यवसाय आफैले खोलेको चाहिँ साढे एक वर्ष भयो | मैले यो पसल खोल्न अस्सी हजार रुपियाँ लगानी गरेको छु | मैले जाउलाखेलको एउटा फाईनान्सबाट पचास हजारको ऋण लिएँ र बाकी तीस हजार चाहिँ चिनेको साहुसँग र बहिनीहरूबाट लिएर अस्सी हजार जुटाएं |
३. तपाईँ यो व्यवसायमा लग्नु भएको कति वर्ष भयो ?
म यो व्यवसायमा लागेको त्यस्तै २२ वर्ष भैसक्यो | बुबा बित्नु भए पछि म कामको खोजीमा कलकत्ता पुगेँ र त्यहाँ कपाल काट्ने र अन्य सबै काम हरू सिकेँ | केही महिना त्यता काम गरेर घर फर्किएँ र गाउँमा बसेरै कपाल काट्ने काम गर्न थालेँ | गाउँमा त्यति कमाई नभएकोले फेरी भारतको दिल्ली गएँ र त्यहाँ दस वर्ष काम गरेँ | भारतमा नै चौध वर्ष बसेँ त्यहाँ बस्दा धेरै गाह्रो हुन थाल्यो र त्यसैले म त्यहाँबाट घर फर्केर फेरी काठमाडौँ आएँ | सुरुमा मैले काठमाडौँको बानेश्वोरमा एउटा हजाम पसलमा काम गरेँ त्यसपछि केही महिना सानो गाउँ स्थित एउटा पसलमा काम गरे | अरूको पसलमा काम गर्दा कहिले छोडेर जा, अन्तै काम गर भनेर कचकच गर्ने त्यही भएर अहिले चाहिँ आफैले पसल खोलेर यो व्यवसाय गर्न थालेको हुँ |
४. यो व्यवसायमा लाग्नलाई के-कस्ता सिप र तालिम लिनु पर्छ ?
तालिमहरू भनेको कपाल काट्ने, दारी काट्ने, हेयर स्टाइलहरुबारे थापाउनु पर्यो, मसाज गर्ने, कपाल स्ट्रेट गर्ने, कपालमा रङ्ग लगाउने जस्ता सबै कामहरू सिक्न जरुरी छ | कुनै पसलमा गएर केही समय काम गर्यो भने यो सबै काम सिकिन्छ |
५. यो व्यवसायमा कति आम्दानी गर्नु हुन्छ ?
गर्मी मौसममा चाहिँ राम्रै व्यवसाय हुन्छ | दिनमा रु १५०० भन्दा घटी चाहिं हुँदैन | तर जाडोको मौसममा मान्छेहरूले कपाल त्यति काट्दैनन्, त्यसैले जाडो बेला चाहिँ अलि व्यापार कम नै हुन्छ | सिजनको समयमा भने सबै खर्च गरेर महिनामा १० देखि १५ हजार जम्मा हुन्छ |
६.यस्तै व्यवसाय गर्न चाहनेहरूलाई के सुझाव दिन चाहनु हुन्छ ?
यो व्यवसाय खोल्ने हो भने पसल राख्दा राम्रो ठाउँ छान्नु पर्छ जस्तै बाटोको छेउ-छाउ तिर, मानिसहरूको चहलपहल बढी हुने ठाउँमा पसल खोल्यो भने धेरै व्यापार हुने सम्भावना हुन्छ | हाम्रो कपाल काट्ने व्यवसायीहरूको एउटा युनियन नै छ र यदी कसैलाई यो व्यवसाय खोल्न मन छ भने त्यहाँ गएर कुरा गर्न सकिन्छ | त्यहाँबाट केही खालको सुझाव र आर्थिक सहायत पनि पाउन सकिन्छ | उद्यमीनेपालबाट
Leave a Reply