फिल्म लभ स्टेशनका नायक प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकालाई नीजि बिद्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । काठमाडौंको गोकर्ण स्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिद्यालय भर्ना सहित 3 महिनाको लागि शुल्क बापतको एक मुस्ट रकम प्रदान गरिएको हो ।
अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपांग आवाज केन्द्रमा पुगेर विद्यार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् । विद्यार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गरिएको बारे प्रदीपले भने, ‘कलाकारको दायित्व भनेको अभिनय मात्र नभएर समाजसेवा पनि हो ।
प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विद्यार्थीहरुको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एकमुष्ट बुझाएका हौं।’ बाँकी शुल्कबारे प्रदीपले भने, ‘अहिले चलचित्र लभ स्टेशनका तर्फबाट हामीले यो सहयोग गरेको हौं । यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरी सहयोग गर्ने छौं र अरुबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ ।’
फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले बिगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेशनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विधार्थीको तीन महिनाको पढाई खर्च ब्यहोरेको बताए । करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यस अघि पनि आफुहरुले एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए ।
उज्जवल घिमिरे निर्देशित फिल्म ‘लभ स्टेशन’ यही चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म प्रदीपको अपोजिटमा नायिका जसिता गुरुंग प्रस्तुत भएकी छन् ।
Leave a Reply