नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री एवं गीतकार झलनाथ खनाल (जे.एन खनाल)को दोस्रो गीतिएल्बम ‘परिवर्तनका स्वरहरु–२’ प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सार्वजनिक गरिएको छ । गीतकार खनालको ७० औं जन्मोत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको हालमा उक्त एल्बम सार्वजनिक गरिएको थियो ।
परिवर्तनका स्वरहरु–२ सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता झलनाथ खनालको सृजनशिलताको प्रसंसा गरेका थिए । झलनाथ खनाल (जे.एन.खनाल) को गीती एल्बम परिवर्तनका स्वरहरु भाग–२ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यति राम्रो सृजना गर्नु भएको छ । उहाँको सृजनशिलता धेरैको लागि प्रेरणाको स्रोत हुनसक्छ ।’
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताए । देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु, जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिब्रताले देशमा परिवर्तनको क्रम बढेको ओलीले बताए । उनले भने, ‘देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ, विकास र समृद्धिको अभियानसँगै नेपालीको मुहारमा उज्यालो ल्याउनेछ ।’
प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औषत सुखमा विस्वास नगर्ने बताउँदै समृद्ध मुलुकको निर्माणमा सांस्कृतिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नेछ, संस्कृतिलाई जोगाइराख्न र विकसित रुप दिन जरुरी छ भने ।
त्यस्तै एल्बम सार्वजनिक गरिसकेपछि गीतकार जे.एन. खनालले राजनीतिको समयबाट बचेको समयलाई गीत, कविता तर्फ लगानी गरेको बताए । मुलुकमा संस्कृति समृद्ध रह्यो भने मुलुक पनि समृद्ध हुन्छ भन्दै खनालले नेपाली संस्कृतिलाई सबै मिलेर परिस्कृत गर्दै जोगाउनु पर्ने आजको आवश्यकता भएको बताए । उनले ७० वर्षको उमेर आफूलाई अझै तन्नेरी लागेको बताउँदै अझै १५ वर्ष तन्नेरी नै रहने बताए । सिर्जनाले देश बोलेको छ, जन्मभूमि बोलेको छ उनले भने मेरो देश र इलामलाई परिवर्तनका स्वरहरुभित्र समावेश गरेको छु ।
कार्यक्रम आयोजक संगठन जन सांस्कृतिक महासंघ, नेपालका संयोजक खगेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको थियो । खगेन्द्र राईले मन्तव्य दिँदै सांस्कृतिक संगठन मजबुत बनाउँदै लैजानका लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै गीतकार झलनाथ खनाललाई जन्मोत्सवको शुभकामना एवं परिवर्तनका स्वरहरु–२ ले जनतामा पुनर्जागृत गराउने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै महासंघका अध्यक्ष सरल सहयात्रीले स्वागत मन्तव्यका क्रममा सांस्कृतिक संगठन अझै पार्टी एकता हुँदा पनि एकताबद्ध हुन नसकेको बताए । सांस्कृतिक आन्दोलनले नै जनतालाई जागृत गराउने हुँदा एकजुट भएर मुलुकको संस्कृतिलाई परिवर्तनमुखी बनाउँदै समृद्ध नेपाल बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा कार्यक्रममा अशोक लोहारुङ राई, श्रेयसी चेमजोङ, धनु ग्याङ्मी मगर, यम बराल, आनन्द कार्की लगायत जनसांस्कृतिक महासंघ नेपालका कलाकारहरु, अन्तरा समूहका कलाकारहरु एवम् एल्बममा स्वर दिएका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । एल्बमभित्र ९ वटा गीत र एउटा कविता समावेश गरिएको छ । जसमा जे.एन. खनालको एकल रचना एवं मिलन तिमल्सीनाको एकल संगीत रहेको छ ।
इलाम हाम्रो चियाबारी राम्रो, पहिले नेपाली हौं, आमा, हामी युवा, हामी श्रमिक, अझै पनि, लौ हेर साथी, इलामको गीत, सातै प्रदेश जस्ता गीत रहेका छन् भने जे.एन. खनालद्वारा वाचन गरिएको श्रद्धान्जली आमालाई कवितासमेत समावेश गरिएको छ । एल्बममा यम बराल, आनन्द कार्की, ज्ञानु राणा, प्रल्हाद तिमिल्सिना, पार्वती राई, राजु बराल, अन्जु घिमिरे, वसन्ती सुनुवार, पूर्णकला बिसी, खुमन अधिकारी, रामभक्त जोजिजू, धिरज लकान्द्री, दिपक लिम्बूको स्वर रहेको छ ।
Leave a Reply