काठमाडौं : स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोभिड १९ खोप पठाएको छ। मन्त्रालयले अगामी माघ १४ गतेदेखि सुरु हुने कोभिड खोप अभियानका लागि आइतबार प्रदेशहरुमा खोप पठाएको हो।
प्रदेश २ को लागि भने प्रदेश एकको विराटनगर र बागमती प्रदेशको हेटौँडास्थित खोप भण्डारण स्टोरमा पठाइएको छ। मन्त्रालयले देशभरका दुई लाख बढी स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनरसहित साढे चार लाख स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिने तयारी गरेको छ।
भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएपछि पहिलो चरणको खोप अभियान सुरु गर्न लागिएको हो। मन्त्रालयले प्रदेश १ मा ९६०० भायल, बागमती प्रदेशको हेटौडामा ७६०० भायल, काठमाडौं टेकु भण्डारणमा १२५०० भायल, गण्डकी प्रदेशको पोखरामा ४००० भायल, बुटवलमा ८८०० भायल, नेपालगञ्जमा २६०० भायल,कर्णाली र सूदुरपश्चिम प्रदेशमा ३६०० भायल खोप पठाइएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पहिलो डोजको खोप मात्र पठाएको जनाएको छ। सरकारले पहिलो डोज खोप लगाएको एक महिना पछि दोस्रो डोज लगाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले खोप लगाएपछि स्वास्थ्य समस्या देखिएमा त्यसको उपचार सरकारले व्यहोर्ने जनाएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका प्रदेशका मन्त्री, प्रदेश स्वास्थ्य निर्देशनालयका कर्मचारी, विभिन्न अस्पतालका निर्देशक लगायतसँग गरेको भर्चुअल मिटिङमा स्वास्थ्य सचिवले सबै सरकारी र निजी स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई सामान रुपमा खोप अभियानमा समेट्न अनुरोध गरेको छन्।
Leave a Reply