कोभिड–१९ विरुद्धको खोप अभियान शुरु, भवितव्य भए सरकार जिम्मेवार नहुने

समतापोष्ट
  १४ माघ २०७७, बुधबार ११:५१

काठमाडौँ । सरकारले आज १४ माघबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्दैछ ।भारतको सहयोगमा प्राप्त गरेको १० लाख डोज खोप आजबाट लगाउन सुरु गर्न लागेको हो ।

आज विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप भर्चुअल रुपमा खोप अभियानको शुभारम्भ गर्नेछन् । कठमाडौँमा मात्र ११ वटा अस्पतालले कोभिड–१९ विरुद्धको खोप लगाउने छ ।

सरकारले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलाई पहिलो चरणको खोप लगाउँदैछ । तर खोप लगाउँदा स्वास्थ्यमा तलमाथि भए सरकार जिम्मेवार नहुने भएको छ ।

भारतको अनुदानमा ल्याएको कोभिशिल्ड खोप लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको भारतीय अधिकारीहरुले दावी गरेका छन् ।

खोप अभियान शुरु हुुनु अघि नै सरकारले खोप लगाउँदा ज्यान तलमाथि भए सरकार जिम्मेवार नहुने भन्दै जिम्मेवारीबाट पन्छिसकेको छ ।

त्यसैले खोप लगाउनु अघि खोप लगाउने व्यक्तिले खोपका कारण ज्यान तलमाथि भए स्वयं जिम्मेवारी हुने शर्तनामा गर्नुपर्नेछ ।

यसको अर्थ कोभिशिल्ड खोप खोप लगाएपश्चात कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो खोप नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कुनै क्षति भए कम्पनीले क्षतिपूर्ति नव्यहोर्ने बताए ।

तर खोपबाट कुनै असर भएमा थप उपचारका लागि स्वास्थ्यकर्मीसहितको टोली खोप केन्द्रमै तयारी अवस्थामा राखिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *