कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

समतापोष्ट
  २४ माघ २०७७, शनिबार ०७:४९

धनगढी। कैलारी गाउँपालिकाको गाउँ सभाको हिउँदे अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको विशेष सम्बोधनका साथ हिउँदे अधिवेशन सम्पन्न भएको हो । गाउँ सभाको बैठक गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाको अध्यक्षतामा बसेको थियो ।

बैठकमा सम्बोधनको क्रममा गाउँपालिका अध्यक्षले गाउँ सभा सदस्यहरुद्वारा अघिल्ला बैठकमा उठाएको विषय वस्तुमा स्पष्ट पारेका थिए । यसैगरी, विषयगत समितिहरुले उठाएका विषयमा पनि उनले जवाफ दिएका छन् ।

सम्बोधनको क्रममा अध्यक्ष चौधरीले प्रधानमन्त्रीको प्रतिगामी कदमको कारण स्थानीय सरकारमा पनि असर परिरहेको बताए । उनले गाउँपालिकालाई अगाडि बढाउने दायित्व सबैको रहेको उल्लेख गर्दै गाउँपालिकाको आन्तरिक आय बढाउन पनि जरुरी रहेको उल्लेख गरे ।

यसैगरी, गाउँपालिकाले गरेका कामहरु डाटा पोर्टलमार्फत सबैले सजिलै हेर्न सक्ने व्यवस्था रहेकाले त्यसबारे अझै पनि जनतालाई बुझाउन आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगमार्फत गाउँपालिकाको सूचनाहरु सजिलै प्राप्त गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै भने–‘तर, यसको बारेमा अझै पनि धेरैले बुझ्न सकेका छैनन । हामीले बुझाउनु जरुरी छ ।’

गाउँ सभाको बैठकमा गाउँ सभा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद जोशी,सामाजिक विकास शाखा प्रमुख यगम कलेल  लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । गएको पुस २७ गतेदेखि कैलारी गाउँपालिकाको गाउँ सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । सो गाउँपालिकाको गाउँ सभाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको ठहर गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *