धनकुटा । दक्ष पत्रकार उत्पादन गर्न धनकुटामा उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न भएको छ ।
धनकुटाको पहिलो सामुदायीक रेडियो धनकुटा एफएम १०६.२ मेगाहर्जको आयोजनामा संचालन गरिएको सात दिने तालिममा धनकुटा र तेह्रथुमका २० जनाको सहभागीता रहेको थियो ।
सो तालिमको समापनका अवसरमा प्रदेश नं. १ को प्रदेश सभाका न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी रहेको बताए ।
सभापति पराजुलीले पछिल्लो समयमा नेपाली पत्रकारिताले फड्को मारेको भए पनि मर्यादिन बन्न नसकेको बताए । उनले त्यसका लागि पत्रकारिताको क्षेत्रमा पाइला टेक्नेहरुले पेशालाई मर्यादित बनाउने अठोट गर्नुपर्नेमा जोड दिए ।
धनकुटा निवासी पराजुलीले धनकुटामा पत्रकारिताको क्षेत्रमा धनकुटा एफएमले खेलेको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि एफएमले धनकुटामा पत्रकारिता क्षेत्रको विकासका लागि उत्तिकै योगदान रहने विश्वास व्यक्त गरे ।
तालिम समापनमा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद श्रेष्ठ, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष अर्जुन राई, जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रमुख एसपी गोविन्द अधिकारी, जिल्ला अस्पताल धनकुटाका निमित्ति मेडिकल सुपरिटेन्डेड डा। पुजन विश्वकर्मा, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, गैरसरकारी संस्था महासंघका अध्यक्ष मिनप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वसभापति खगेन्द्र प्रसाद घिमिरे, नेपाल प्रेस युनियनका कोषाध्यक्ष पूर्ण चौधरी लगायतले तालिम प्राप्त सञ्चारकर्मीहरुलाई टिकाइराख्न सबैको उत्तिकै दायीत्व रहनेमा जोड दिए ।
रेडियो धनकुटा एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीको सभापतित्वमा भएको कार्यक्रममा तालिममा सहभागीमध्ये कञ्चन दर्नाल र सुरेषकुमार राई याम्फुले तालिमबाट आफुहरुलाई पेशामा लाग्न प्रेरणा मिलेको बताए ।
सो अवसरमा तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने तालिमका मुख्य प्रशिक्षक भीम घिमिरे, प्रशिक्षकहरु खगेन्द्र घिमिरे, रमेशचन्द्र अधिकारी र विदुर खवासलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सो तालिम समापन कार्यक्रम एफएम व्यवस्थापन समितिकी सचिव सरिता बराइलीले गरेकी थिइन् ।
Leave a Reply