दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा

समतापोष्ट
  ३० माघ २०७७, शुक्रबार १०:३७

सुर्खेत । पश्‍चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँका दलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि यो बस्तीमा दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा छन् ।

स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै कुवा प्रयोग गर्दै आएको बताइन् । मनिसराको टोलमा १५ घर परिवारले छुट्टै कुवाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हामीलाई अरु कुवामा जान दिँदैनन् उनीहरु पनि हामीले प्रयोग गर्ने कुवामा पानी भर्न आउँदैनन्’ कुवामा पानी भर्दै गरेकी मनिसराले भनिन् ।

कुवामा दलित समुदायका मानिसहरु पालो गरेर पानी भर्ने गरेको उनले बताइन् । ‘एउटै कुवामा १५ देखि २० घरधुरीले पानी भर्ने भएकाले पालैपालो भर्दै आएका छौँ,’ मनिसराले भनिन्, ‘अरुका कुवामा पानी मागेपनि दिँदैनन् हामीलाई दलित अछुत जात भनेर हेपेको होला ।’ कुवामा धमिलो पानी आउने भएकाले कतिपयले फिल्टर प्रयोग गर्ने गरेपनि केहीले भने धमिलै पानी पिउने गरेको उनले जानकारी दिइन् । कतिपय स्थानीयहरु धमिलो पानी भएकाले गाउँदेखि आधा घण्टा टाढाको कर्णाली नदीमा पानी लिन जान्छन् । सोही गाउँकी विष्ना कामी ६ घरधुरी दलित समुदायले एउटा छुट्टै कुवा प्रयोग गर्ने गरेको बताउँछिन् । ‘हामीहरु ६, ७ घरधुरी मिलेर एउटा कुवा बनाएका छौँ,’ उनले भनिन्, ‘त्यही कुवाको पानी नै खाने, नुहाउने र कपडा धुने गर्छौं ।’

यहाँको वडा कार्यालयका अनुसार घाटगाउँमा २५ वटा कुवा छन् । जसमा दलित समुदायले प्रयोग गर्ने कुवामा गैरदलित समुदायले प्रयोग गर्दैनन् र दलित समुदायलाई अरुले प्रयोग गर्ने कुवाको पानी प्रयोग गर्न दिँदैनन् । पाँच सय घरधुरी रहेको घाटगाउँमा दलितहरुको बाहुल्यता छ । वडा कार्यालयको तथ्यांक अनुसार सो गाउँमा पाँच सय घरदुरीमध्ये २५० भन्दा धेरै घर दलित समुदायको छ ।

करिब पाँच वर्षअघि तत्कालिन गाउँ विकास समिति र विभिन् संघसंस्थाको पहलका घाँटगाउँलाई छुवाछुतमुक्त गाउँ घोषणा गरिएको थियो । तर, छुवाछुतमुक्त गाउँ घोषणा गरिए पनि विभेदको अवस्था कायमै रहेको अधिकारकर्मीहरुको भनाइ छ । अधिकारकर्मी प्रतिमा परियारले पश्‍चिम सुर्खेतको तातापानी र घाँटगाउँमा छुवाछुतको चरम मारमा दलित समुदाय रहेको बताइन् । छुवाछुतमुक्त मुक्त गाउँ घोषणा भएता पनि छुवाछुत भने नहटेको उनको भनाइ छ ।

केही दिनअघि पञ्‍चपुरी नगरपालिकाले पनि दलित समुदायलाई जनचेतनामुलक कार्यक्रम संचालन गरेको थियो । लाखौँ रकम खर्च गरिएको सो कामर्यक्रम हलभित्र दलित समुदायलाई राखेर प्रशिक्षण दिइएको थियो । यस्ता खालका प्रशिक्षण कार्यक्रमले दलित समुदायमाथि हुने विभेदको अन्त्य हुन नसक्ने अधिकारकर्मी प्रतिमाको भनाइ छ । ‘दलितमाथि हुने विभेदको अन्त्य गर्नको लागि कोठे कार्यक्रम होइन, फिल्डमै गएर दलित र गैरदलितलाई राखेर सचेतना जगाउनुपर्छ,’ उनी भन्छिन्, ‘यस्ता कार्यक्रम भनेका त आएको बजेट सक्नका लागि मात्र हो।’

दलित महिला संघ सुर्खेतका उपाध्यक्ष खगिसरा वली दलितमाथि हुने विभेदको अझै अन्त्य हुन नसकेको बताउँछिन् । ‘प्रदेश राजधानीमा पनि यो अवस्था भएपछि गाउँको कस्तो अवस्था होला ?,’ उनी भन्छिन्, ‘यो समस्यालाई जरैदेखि उखेल्न जरुरी छ ।’ यता चौकुने गाउँपालिका-९ का वडा अध्यक्ष नवराज जैशीले गाउँमा छुवाछुत प्रथा हटेको दाबी गरे । ‘यी कुवाहरु पहिला बनाएको हो र यस वडा मा एकैठाउँ झुम्म परेका बस्ती भएकाले पनि छुट्टा छुट्टै कुवाको प्रयोग भएको हुन सक्छ,’ उनले भने, ‘यो गाउँमा छुवाछुत प्रथा छैन ।’ इकागजमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *