शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

समतापोष्ट
  १० फाल्गुन २०७७, सोमबार ०७:५४

महेन्द्रनगर । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव २०७७ सुरु भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव आइतबारदेखि सुरु भएको भिमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन महोत्सव आयोजना गरेको उनले जानकारी दिए । महोत्सवको उद्घाटन नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले गरेका छन् ।

उद्घाटन गर्दै मन्त्री आलेले आरक्ष पीडितलाई जग्गा उपलब्ध गराउने बताएका छन् । अब धेरै कुर्नु पर्दैन,उनले भने,‘१९ बर्ष देखी तपाईँहरू आरक्ष पीडित बन्नु भयो,अब १९ बर्ष होइन १९ दिन भित्र तपाईँहरूले गुमाएको जग्गा जमिन फिर्ता गर्छौँ ।’

भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव ७ दिन सम्म चल्नेछ । महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, ताल तलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *