धर्ना बसेका बादी समुदायका बालबालिका बिरामी

समतापोष्ट
  १४ फाल्गुन २०७७, शुक्रबार १३:०४

सुर्खेत । घरबासको माग गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चौरमा धर्ना बसेका बादी समुदायका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका हुन् ।

बालबालिका र वृद्धवृद्धामा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको संघर्ष समिति दैलेखका अध्यक्ष प्रेम बादीले बताए ।

‘दिउँसोको चर्को घाम र रातिको चिसोका कारण पनि होला रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ अध्यक्ष बादीले समताखबरसँग भने, ‘राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ ।’

बिरामी परेका बादी समुदायका केहीको प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारी दिनुपर्ने माग राख्दै दैलेख र कालिकोटका बादीहरू चार दिनदेखि मुख्यमन्त्री कार्यालयअगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन् ।

कर्णाली प्रदेश सरकालाई धर्ना दिन दैलेखबाट आएका दुई सय ४० जनामध्ये ७० भन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको हिक्मत बादीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *