काठमाडौँ : आज देशभर कोरोना भाइरसबाट ४ हजार ५ सय २४ जना संक्रमित भएका छन् ।
१४ हजार ६ सय ७२ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ४ हजार ३ सय ६४ जना तथा १ हजार ९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ६० जना गरी जम्मा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ९० दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा २६ हजार २ सय २५ सक्रिय संक्रमित रहेका छन् ।
सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको ७ बुँदे निर्देशन
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि देशभरका सबै अस्पताललाई ७ बुँदे निर्देशन दिएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आज अस्पतालहरूलाई पत्र लेख्दै कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने, बिदा बसेका कर्मचारीलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको हो ।
यसैगरी अस्पतालमा ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने, दरबन्दी खाली भए तत्काल जनशक्ति व्यवस्थापन गर्ने, बढी जनशक्ति आवश्यक भएमा ६ महिनाका लागि करार सेवा लिने, अस्पतालमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्न सबै अस्पताललाई निर्देशन दिइएको हो ।
मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा। समीर अधिकारीले हस्ताक्षर गर्नुभएको पत्रमा कोभिड सङ्क्रमितको सङ्ख्याका आधारमा अस्पतालले बहिरङ्ग सेवा स्थगित गर्दै आकस्मिक सेवा सञ्चालन गर्न भनिएको छ ।
Leave a Reply