काठमाडौं : जागरण मिडिया सेन्टरले समाबेशी मिडियाको बहस थालनी गरेको छ । दलित तथा सिमान्तकृत समुदायमाथी गरिदै आएको जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि मूलधारका मिडियामा समाबेशीता जरुरी रहेकोले सेन्टरले बहसको थालनी गरेको हो ।
सेन्टरद्धारा साउन ८ र ९ गते भक्तपुर जिल्लाको नगरकोटस्थित रोयल हेरिटेज इनमा आयोजना गरिएको सम्पादकहरुसंगको संवाद कार्यक्रममा मिडियामा समाबेशीताको मुद्धा बारे व्यापक बहस भएको थियो ।
दुई दिनको बहस पश्चात समावेशी मिडिया निर्माणका लागि सम्पादकहरुले प्रतिवद्धता पत्र जारी गरेका छन् । जातीय भेदभाव तथा छुवाछूतका बिषयलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्न सम्पादकहरुले ११ बुँदे नगरकोट प्रतिवद्धता पत्र जारी गरेका हुन ।
जागरण मिडिया सेन्टरद्धारा साउन ८ र ९ गते आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा यस्तो प्रतिवद्धता गरेका हुन ।
प्रतिवद्धता पत्रमा सरकारी तथा निजी मिडियामा संविधान र समावेशीकरणको भावना अनुरुप दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितताका लागि आफुहरु प्रतिवद्ध रहेको उल्लेख छ ।
मिडिया हाउसको सम्पादकीय नीतिमा जातीय भेदभाव तथा छुवाछूत, लैङ्गिकलगायत सबै प्रकारका विभेदका बिषयलाई प्राथमिकता दिन, दलित तथा सामाजिक विट निर्माणमा सम्पादकहरुले प्रतिवद्धता गरेका छन । राष्ट्रिय आमसञ्चार नीतिलाई सामयिक बनाउदै यसका प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा प्रतिवद्धता जनाइएको छ ।
सरकारी सञ्चारमाध्यमहरु गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति लगायतका संस्थानहरुको सञ्चालक समितिमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र सम्पादकीय समुहमा दलित समुदायको सहभागीता सुनिश्चित गर्न गराउने र समावेशी मिडियाका लागि सम्पादकहरुले प्रतिबद्ध रहेका छन ।
२०६९ सालमा गठित सञ्चार माध्ययमलाई समावेशीकरण गर्ने सम्बन्धि उच्चस्तरीय आयोगको प्रतिवेदन र त्यसभन्दा अघि गठन भएको उच्चस्तीय समावेशी मिडिया आयोगको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न गराउने पैरवी गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
कार्यक्रममा अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, गोरखापत्रका नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले, नागरिक खबरका सम्पादक डण्ड गुरुङ, हरेक पल अनलाइनका सम्पादक प्रकाश थापा,द हिमालय टाइम्सका व्यूरो प्रमुख राजकुमार कामत, जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा, कार्यकारी निर्देशक रेम विश्वकर्मा लगायत सम्पादकसहित २५ जना पत्रकारको सहभागी थियो ।
Leave a Reply