सुधा देव,सप्तरी : राजविराज नगरपालिका–१५ कि ६५ वर्षीया अनितादेवी यादव संविधान दिवसको दिन बिहानै बाल्टिनमा दूध बोकेर राजविराज नगरपालिका–२ दूध बेच्न आइपुगिन् । उनलाई आज संविधान दिवस हो भन्ने थाहा थिएन । छोराबुहारी शिक्षित भएकोले संविधान शब्द उनीहरूकै मुखबाट सुनेको जस्तो लाग्ने उनी बताउँछिन् ।
संविधान के हो ? किन आवश्यक छ ? उनलाई थाहा छैन । संविधानमा जे अधिकार दिए पनि व्यवहारमा कार्यान्वयन भए जस्तो उनलाई लाग्दैन । ‘पहिले पनि भैंसी पालेर दूध बेचेर गुजारा गर्थें । अहिले पनि दूध बेच्न आएकी छु । दूध बेचेर घर जाँदा घाँस काटेर फर्किन्छु’, उनी आफ्नो दैनिकी सुनाउँछिन् ।
बिहानै राजविराज नगरपालिका–२ मा महिलाहरू धमाधम कुचोको लागि कुरो उखेल्दै गरेको भेटिए । उनीहरू वर्ष दिनभर कुचोका लागि पुग्ने कुरोको जोहो लागेका थिए ।
कुरो उखल्दै राजविराज–१३ कि सुनितादेवी रामले भनिन्, ‘म जन्मेदेखि अहिलेसम्म फुसको घरमा बस्दै आएको छु । वर्षमा यसरी नै एक पटक कुरो उखेलेर वर्षभरि बढार्दै आएकी छु ।
उनीहरू जस्तै सीतादेवी रामलाई पनि संविधान दिवसले छोएन । उनी भन्छिन्, ‘हामी गरिबका लागि संविधान भए पनि के, नभएर पनि के, एक दिन बिरामी भएर काम गर्न सकिएन भने भोकभोकै सुत्नुपर्ने बाध्यता छ ।’
३ असोज ०७२ मा संविधानसभाले ‘नेपालमा संविधान’ जारी गरेको थियो । आज सातौँ संविधान दिवस मनाइरहँदा सप्तरीका विपन्न महिलाहरूमा कुनै प्रभाव र चासो रहेन ।
उनीहरू संविधान दिवस वा संविधानको महत्वबारे जानकार छैनन् । संविधानले दिएको अधिकार र महत्वबारे बुझाउन नसक्दा यसबारे विपन्न महिलाहरू अनभिज्ञ रहेका स्थानीय सुशीला यादवको बुझाइ छ ।
संविधनमा दिएको अधिकार बुझाएर व्यवहरमा कार्यान्वयन गर्न नसकेकै कारण संविधानको विषयमा अशिक्षित, विपन्न व्यक्तिहरू अनभिज्ञ हुन पुगेका परिकल्पना नेपालकी उपाध्यक्ष सुनिता परियारको बनाइ छ ।
न्युज कारखाना
Leave a Reply