नेपाल दलित मुक्ति संगठनको जागरण अभियान कर्णाली प्रदेशबाट शुरु

समतापोष्ट
  ६ चैत्र २०७८, आईतवार १७:०९

सुर्खेत : नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठनको स्थानीय निर्वाचनका लागि जागरण अभियान कर्णाली प्रदेशको सर्खेतबाट शुरु भएको छ ।

संगठनले ‘दलित बस्तीमा जाऔँ, नेकपा एसको पक्षमा जनमत सिर्जना गरौं’  भन्ने नाराका साथ आज कर्णाली प्रदेशको सुर्खेतबाट सो जागरण अभियानको शुरु भएको हो ।

अभियानको नेकपा एकीकृत समाजवादीका उपमहसचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले शुभारम्भ गरे । संगठनले चैत ७ गते सुदूरपश्चिमको धनगढी, चैत ११ गते लुम्बिनीको बुटवल, १३ गते गण्डकीको पोखरा, १५ गते मधेश प्रदेशको जनकपुर, १७ गते प्रदेश १ को इटहरी र चैत १९ गते वाग्मति प्रदेशको काठमाडौंमा स्थानीय निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्नेछ  ।

सुर्खेतमा भएको अभियान अन्तर्गत प्रदेश कमिटीको बैठक तथा निर्वाचन परिचालन अभियान कार्यक्रममा कर्णाली प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीहरु स्थानीय निर्वाचन परिचालन कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका १० वटै जिल्ला कमिटीको बैठकहरु आगामी चैत्र १५ गतेभित्र, २५ गतेभित्र सबै स्थानीय कमिटीहरु निर्माण गर्ने र ३० गतेभित्र हरेक वडामा दलित महिला उम्मेदवार छान्ने काम सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको १५ दिने अभियान भब्यताका साथ सफल पार्ने र सगठनको कार्य बिभाजन तथा आर्थिक परिचालन योजना निर्माण गरेको छ ।

नेपाल दलित मुक्ति सगठनको कर्णाली प्रदेश कमिटीका अध्यक्ष निमबहदुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहसचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, पार्टीका पोलिटव्यूरो सदस्य तथा संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्मा, पार्टीकै पोलिटव्यूरो सदस्य चन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष तथा पार्टी केन्द्रिय अम्बरबहादुर थापा, केन्द्रिय सदस्य पार्वती बिशुंखे, कर्णाली उपाध्यक्ष इन्चार्ज बसन्त विश्वकर्मा लगायतले आगामी स्थानीय तहको निर्वाचनमा जतिसक्दो धेरै दलित जनप्रतिनिधिको सहभागीता गराउन पार्टी कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *