पोखरा : स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउने उदेश्यले सोमबार गण्डकी प्रदेशको राजधानी कास्की पोखरामा सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
समता फाउन्डेसनको सहकार्य तथा दलित महिला संघ, कास्कीको समन्वयमा युवा सामाजिक अभियान्ता आस्था नेपालीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकी हुन् । कार्यक्रममा स्थानीय तहमा दलित नेतृत्व बढाउने बारे सहभागीहरुबीच ब्यापक छलफल भएको थियो ।
पहिलोमा चरणमा गरिएको छलफलमा दलित तथा सिमान्तकृत समुदाय र युवाहरुले स्थानीय तहमा नेतृत्व कसरी गर्ने भन्ने विषयमा थियो भने दोस्रो चरणमा गरिएको छलफलमा स्थानीय तहको निर्वाचनमा दलित नेतृत्व कसरी बढाउने भन्ने विषयमा समूह छलफल गरिएको आस्था नेपालीले समताखबरलाई बताइन् ।
उनका अनुसार दलितलाई वडा सदस्यको कोटामा मात्र सिमित होइन नेतृत्व गर्ने ठाउँमा आउन अबसर दिनु पर्ने बारे छलफल भएको थियो।
उक्त कार्यक्रमा दलित,जनजाती,मधेशी समुदायका युवाहरू,यौनिक तथा लैङ्गिक अल्पसंख्यक, पत्रकार, युवा सामाजिक अभियान्ता, विद्यार्थी नेताहरुसहित २५ जनाको सहभागीता रहेको थियो।
नेपालको संबिधान २०७२ मा समानुपातिक समावेशीता उल्लेख गरिएपनि दलित तथा सिमान्तकृत समुदायको राज्यका संरचनाहरुमा संबिधानको मर्म अनुसार प्रतिनिधित्व हुन नसकेको हुँदा प्रतिनिधित्व बढाउनु पर्नेमा सहभागीहरुले जोड दिए । आस्था नेपालीले संचालन गरेको कार्यक्रमको समापन दलित महिला संघ, कास्की शाखा अध्यक्ष सुमित्रा गायकले गरेकी हुन् ।
Leave a Reply