अमेरिका : जागरण मिडिया सेन्टरका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष, डिग्निटी पोष्टका प्रधान सम्पादक रेम विश्वकर्मा अमेरिकाको द जर्सि सिटी काउन्सिलका प्रेसिडेण्टबाट सम्मानित हुनुभएको छ ।
द जर्सि सिटी काउन्सिल र डा.अम्बेडकर अन्तराष्ट्रिय मिसन (AIN) द्धारा अमेरिकाको न्यूयोर्कमा आयोजित डा.बाबा साहेब अम्बेडकरको १३१ औ जन्मजयन्तीको अवसरमा सेन्टरका पूर्व अध्यक्ष विश्वकर्मालाई सम्मान गरिएको हो ।
दलित र सामाजिक समावेशीकरणका लागि लामो समयदेखी सञ्चार वकालत गर्दै आउनु भएका विश्वकर्मा नेपाल पत्रकार महासंघका पूर्व सचिव, र मानवअधिकार तथा दलित अधिकारकर्मी हुनुहुन्छ ।
डा.अम्बेडकरको १३१ औं जन्मजयन्ती कार्यक्रम अप्रिल १४ मा कोभिड १९ को महामारीका कारण दुई वर्षको लामो अन्तरालपछि न्यूयोर्क, न्यु जर्सी र पेन्सिलभेनियाका त्रिदेशीय क्षेत्रका अम्बेडकरवादीहरूले जर्सी शहरको प्रतिष्ठित सिटी हलमा भव्यताका साथ मनाइएको हो ।
जर्सी सिटीको सिटी काउन्सिलले अम्बेडकर अन्तर्राष्ट्रिय मिसन (AIN) सँग साझेदारी गरेको दिन अप्रिल १४ लाई “समानता दिवस“ को रूपमा मान्यता दिने गरी ऐतिहासिक घोषणा गरेको दिनको रुपमा लिईन्छ । डा.अम्बेडकरले भारतमा संविधानद्धारा समाजमा समानता र न्यायलाई स्थापित गर्न ठूलो योगदान पुर्याएका थिए ।
अमेरिकाको न्यूयोर्क स्थित जर्सी सिटी अध्यागमन मैत्री र मानव अधिकारको मूल्य मान्यतालाई कायम राख्ने च्याम्पियनको रूपमा प्रसिद्ध रहेको छ ।
अम्बेडकर अन्तराष्ट्रिय मिसन “एआईएमले जर्सी सिटीको सिटी काउन्सिलप्रति उक्त कार्यक्रमलाई ठूलो अवसरको रुपमा ग्रहण गर्दै धन्यबाद ज्ञापन गरेको छ । एआईएमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “यो अवसर संयुक्त राज्य अमेरिकाभरीका धेरै नागरिक, सार्वजनिक र निजी संस्थाहरूका विचमा मानव अधिकारवादी मूल्यमान्यतालाई स्थापित गर्ने प्रेरित गर्नेछ ।”
एआईएमले डा.अम्बेडकरको कामको योगदानको कदर गर्दै अम्बेडकरको स्मरणीय कार्यको पहुँच विस्तारका लागि विश्वभरिका शिक्षाविद् र नागरिक समाज लगाएत विभिन्न विचारधाराहरूसँग साक्षात्कार गराउन, पुनः जागृत गर्न र बलियो बनाउने गरी यो कार्यक्रमको डिजाइन गरेको थियो ।
उक्त कार्यक्रममा प्रोफेसर टिमोथी लोफ्टस, प्रोफेसर जेनिक राडोन, प्रोफेसर जयश्री काम्बले, प्रोफेसर बिजु म्याथ्यु, डा.विष्णुमाया परियार र सुश्री याशिका दत्त लगाएतका दिग्ज र विद्वानहरुले कार्यक्रममाथी चर्चा गरेका थिए ।
एआईएमका संस्थापक अध्यक्ष स्वर्गीय राजु काम्बलेले सुरु गरेको परम्परालाई निरन्तरता दिँदै एआईएमले डा.अम्बेडकरको लेखन र भाषण निःशुल्क वितरणका लागि बुथ स्थापना गरेको थियो ।
एआईनले उक्त कार्यक्रम घोषणा गर्न पहल गरेको भन्दै जर्सी सिटीको आप्रवासी मामिला आयोग (आईएसी) टोली र घोषणामा हस्ताक्षर गरेकोमा जर्सी शहरका मेयर, स्टिभन एम फुलपलाई धन्यवाद दिएको छ । त्यसैगरी “एआईएमले यस अवसरलाई सम्मान गरेकोमा भारतीय महावाणिज्य दूतावास, न्यूयोर्कका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेको छ ।
Leave a Reply