‘कुकुर कामी’ बाट ‘कविराम कामी’ हुन पाउँदाकाे खुसी

समतापोष्ट
  ६ भाद्र २०७९, सोमबार १०:३७

सुर्खेत : नागरिकतामा अपमानित नाम लेखिएका दैलेखले भगवतीमाई गाउँपालिका–३ मेहेतोलीका ‘कविराम कामी’ औपचारिक रूपमै कविराम कामी भएका छन्।

२०४६ जेठ १० गते गाउँमा गएको नागरिकता टोलीले नागरिकता बनाउँदा तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ नाम लेखिएका उनले औपचारिक रूपमै कविराम कामी बन्न पाउँदा खुसी लागेको बताए।

कविरामको नागरिकतामा ‘कुकुर कामी’ नाम भएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुनः नागरिकता दिन निर्देशन दिएको थियो।

गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए। सोहीबमोजिम प्रशासनले उनलाई आइतबार नयाँ नागरिकताको प्रमाणपत्र दिएको हो।

३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि आफूलाई अर्को जुनी पाएजस्तो लागेको उनले बताए।

‘आफ्नै नामबाट नागरिकता पाउँदा नयाँ जुनी पाएको महसुस भएको छ,’ उनले भने, ‘यही नामकै कारण मैले कयौं कार्यक्रम र सार्वजनिक स्थानहरूमा अपमान हुनपर्‍यो, अब छुटकारा पाएको छु।’

यस्तै, नागरिकतामा अपमानजनक नाम राखिएका ‘ठगे कामी’को पनि नाम सच्याइएको छ। उनलाई कर्णबहादुर विकको नाममा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

नयाँ नागरिकता बनेसँगै अपमानजनक नामबाट राखिएका दुवै जनाका अन्य दस्तावेजहरु समेत खारेज गरिने प्रजिअ प्याकुरेलले बताए।

तस्बिर : अमर सुनार

Leave a Reply

Your email address will not be published. Required fields are marked *