अमेरिकाको सरकारी पाठ्यक्रममा डा.विष्णुमाया परियारको जीवनी समाबेश

समतापोष्ट
  ६ भाद्र २०७९, सोमबार १७:५१

काठमाण्डौं : अमेरिकाको मासाचुसेट्स राज्यको एक सरकारी विद्यालयस्तरको पाठ्यक्रममा सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियारको जीवनी समावेश गरिएको छ ।

यो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा नेपाली मुलकी अमेरिका निवासी डा.परियारको जीवनी समावेश गरिएको उनका श्रीमान तथा पत्रकार प्रदीप परियार थापाले जानकारी दिए ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा.परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको पत्रकार परियारले जानकारी दिए।

यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आउँदो वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने डा.परियारले जानकारी दिईन् । पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ ।

को हुन् विष्णु माया ?

गोरखाको ताक्लुङ्गमा आमा कनमाया र बाबु रूपबहादुर परियारका ११ औँ सन्तानमध्ये छैटौँ सन्तानका रूपमा जन्मिएकी विष्णु उमेरले ५० नजिक छन् । विष्णुमायाको बाल्यकाल सुखद् थिएन तर आफ्ना सन्तान पढाउनुपर्छ भन्ने बाबुको चेत र सामाजिक अव्यवस्था विरुद्ध लड्नै पर्छ भन्ने भावनाको कारण पढ्न पर्छ, पढेपछि मात्रै केही हुन्छ भन्ने अन्तरप्रेरणाले विष्णु पढाइमा तल्लीन रहिन् ।

नाङ्गै खुट्टा हिँडेर, दिनको चार घण्टा धाएर मनकामना स्कुलमा माध्यमिक तहसम्मको अध्ययनका लागि विष्णु आइन् । तर अमर ज्योति लुइँटेल स्कुलमा नाम निस्के पनि आर्थिक अभावले त्यहाँ पढ्न जान भने सकिनन् । तर ‘तँ आँट म पु¥याउँछु’ भनेझैँ विष्णुले आफ्ना लागि सहयोग गर्ने पिसकोर भोलेन्टियर जोन बुकरमान त्यहाँ भेट्टाइन । पढाइको भोक तीव्र भएकी विष्णु स्कुलमा साथीभाइ खेल्न जाँदा पनि पढिरहेकी हुन्थिन् । गोठालो जाँदा र दाउरा घाँस मेलापात जता जाँदा पनि विष्णुको साथमा किताब छुट्दैनथ्यो । जीवनमा सहयोग र अदृश्य हातले गरिदिने यूटर्न बारे बुझ्न पनि विष्णुको जीवनी बुझ्नु आवश्यक देखिन्छ । सहयोग कति महत्त्वपूर्ण र जीवनको गोरेटो नै बदल्ने हुन्छ भन्ने विष्णुलाई थाहा छ । तसर्थ उनी सामाजिक सेवामार्फत सहयोगको हात थाप्छिन् अनि सहयोग गर्छिन् पनि । विभिन्न डोनर एजेन्सीलाई आफ्नो कार्यक्रम र सहयोगबारे सहमत गराएर सहयोग सङ्कलन गरी विष्णुले नेपालमा र अमेरिकामा बसेर सामाजिक सेवा महिला अधिकार, महिला हिंसा, लैङ्गिक हिंसा र विभेदका अनेक रूपका विरुद्ध आफूलाई क्रियाशील राखेकी छन् ।

एसएलसी उत्तीर्णपछि पिसकोर भोलेन्टियर जोन बुकरमानले उनलाई उच्च शिक्षाका लागि काठमाडौं पढ्न छात्रवृत्ति मिलाइदिए । उनी काठमाडौँ आइन् तर उनलाई सहयोग गर्ने दाताले अरूमार्फत् दिएको रकम आफ्नो हात पार्न सकिनन् उनको पैसा कसैले पचाइदियो त्यतिबेला विष्णु हुनसम्मको आपत्मा परिन् । उनलाई काठमाडौँमा पढ्न र बाँच्न मुस्किल भयो तर केही गर्ने दृढ अठोटले काम गर्दै पढ्ने निधो गरिन् ।

उनलाई रेस्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो, केही समय भाँडा माझिन् । एउटा गार्मेन्टमा भात पकाउने काम पाइन् त्यो पनि गरिन् र आफ्ना लागि खर्च जोहो गर्दै पढिन् । विष्णु मायाले राजधानीको पद्म कन्या कलेजबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरिन् ।

एक दिन आफूलाई सहयोग गर्ने बुकरमानलाई अमेरिकामा फोन गरिन् र आफ्नो कुरा राखिन् । त्यसपछि अर्का अमेरिकी प्याम रसमार्फत सहयोग प्राप्त गरिन् ।  विष्णु भन्छिन, ‘उहाँलाई भेट्नु मेरो जीवनको टर्निङ प्वाइन्ट हो । उहाँ काठमाडौँमै हुनुहुन्थ्यो, जो युनिभर्सिटी अफ कलेज प्रोजेक्टको डाइरेक्टर हुनुहुन्थ्यो । उहाँले छात्रवृत्ति पनि दिनुभयो र रिसोर्स असिस्टेन्टको काम पनि दिनुभयो ।’ अमेरिकीहरू विष्णुका लागि साथी, सहयोगी, समन्वयकारी र गड फादरका रूपमा प्रकट भए । युनिभर्सिटी अफ कलेज प्रोजेक्टमा काम गर्दा विष्णुमायाका एक जना अमेरिकनसँग मित्रता भयो । उनी सोही कलेजमा अध्ययनरत थिए । उनै साथीकी आमा इभा कासेल विष्णुमायाका लागि विशेष बनेर आइन् ।

छोरालाई भेट्न आएका बेला विष्णुमायालाई निकै मन पराएकी इभाले उनलाई अध्ययनका लागि अमेरिका लाने वातावरण निर्माण गरिन् । अमेरिका प्रस्थान विष्णुको भाग्यको अर्को महत्त्वपूर्ण ढोका उघ्रिएको थियो । १९९९ मा अमेरिका आएकी डा.विष्णुमायाले एक सेमेस्टर अङ्ग्रेजी मात्र पढिन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो ।

कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सिलेन्ट पोलिटिकल साइन्स अवार्ड पाउन सफल बनिन् । त्यति मात्र होइन, कलेजले दिने प्रेसिडेन्ट कप अवार्डलगायत चारवटा उत्कृष्ट अवार्ड जित्ने सौभाग्य जु¥यो । उनले म्यानर कलेजबाट २००४ सोसल एन्ड पोलिटिकल सिस्टममा ब्याचलर्स डिग्री गरिन् । अध्ययनपछि विष्णुले एक वर्ष डोमेस्टिक भायलेन्स एड्भोकेटको रूपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसासम्बन्धी धेरै अनुभव बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुरा सिक्ने मौका मिल्यो ।

अमेरिकाको क्लार्क विश्व विद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरिन् र म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेड (वियोन्ड द पीएचडी) ले सम्मान गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *