डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु

समतापोष्ट
  २३ कार्तिक २०७९, बुधबार ०८:१४

डोटी : डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।

भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ। यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए। वेपत्ता २ जनाको भने सकुुसल उद्धार गरीएको उनले बताए। गैरा गाउँका अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भूकम्पमा परी ५ जना घाइते भएका छन्। घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन्। घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। 

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *