धनगढी। कैलालीको धनगढीस्थित मनेहरा शिबिरमा बसोबास गर्दै आएका ५० बालबालिकालाई शनिबार जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ ।
धनगढी उप-महानगरपालिका-७ मनेहराको खोला किनार र बनक्षेत्रमा सुकुम्बासीको रुपमा बसोवास गर्दै आएका ५० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
लामो समयदेखीको सितलहरका कारण चिसो बढेसँगै आर्थिक रुपमा विपन्न, असहाय, थारु तथा दलित परिवारका बालबालिकालाई समता मिडिया सेन्टरको सहयोगमा प्रति बालबालिकालाई एक थान न्यानो कपडा वितरण गरिएको हो।
वडा अध्यक्ष मोती रानाले सुकुम्बासी परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । न्यानो कपडा वितरण गर्दै उनले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिए ।
समता मिडिया सेन्टरले संचालन गरेको जेष्ठ नागरिक तथा बालबालिका बचाउ अभियान अन्तर्गत ७ नं.वडा कार्यालय र डिग्निटी फाउण्डेसन नेपालसंग समन्वय गरी मनेहरा सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरेको हो। वडा अध्यक्ष मोती रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधीहरुले चिसोको बेलामा न्यानो कपडा सहयोग गरेकोमा खुसी व्यक्त गरे ।
ज्याला मजदुरी गरेर जीवनगुजारा चलाउँदै आएका विपन्नहरुका बालबालिका र शारीरिक अपांगता भएका बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले बताए ।
७ नं.वडाका अध्यक्षसहित सबै जनप्रतिनिधी र डिग्निटी फाउण्डेसन नेपालकी अध्यक्ष रुक्मणी परियारको रोहबरमा २० हजार दुई सय ५५ रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो ।
सेन्टरले कैलाली जिल्ला मात्रै नभएर सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा पनि हरेक बर्ष विपन्न, दलित तथा अशक्त व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।
सेन्टरले न्यानो कपडा बैंक मार्फत प्रत्येक व्यक्तिबाट एक सय रुपैयाँ सहयोग अभियान संचालन गरिएको थियो । संस्थाको एनएमबि बैंक खाता 0150143889800012 र इसेवा आइडी 9858431239 मार्फत प्रत्येक व्यक्तिले स्वदेश तथा विदेशबाट एक सय रुपैयाँ देखी १० हजार रुपैयाँसम्म जम्मा गरेका छन् । न्यानो कपडा बैंकमा २४ हजार ५ सय जम्मा भएको सेन्टरका कार्यकारी अध्यक्ष परियारले बताए । केही दिनमै मनेहरा शिबिरका ५० जेष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिने समेत परियारले बताए ।
Leave a Reply