दाङ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ ।
बुधबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गरेका हुन् । रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बसेका छन् ।
यसअघि सत्तारूढ दलबाट एमालेका कुमार दसौदी र कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका थिए । नागरिक उन्मुक्तिले केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, राष्ट्रियसभा सदस्यमा भने छुट्टै उम्मेदवारी दिएको हो ।
उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि निर्वाचन कार्यालय पुगेकी थिइन् । राष्ट्रियसभा सदस्यको उपनिर्वाचन माघ २५ मा हुँदैछ ।
Leave a Reply