काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजी पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) उत्तमराज सुवेदी र महान्यायाधिवक्ता कार्यालयका पूर्व नायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।
उनका अनुसार समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल कार्यान्वयनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको छ ।
गिरीका अनुसार आयोगको मुख्यालय जनकपुरमा राख्ने निर्णय पनि भएको छ । सरकार र मिटर ब्याज पीडितबीच शनिवार ५ बुँदे सहमति भएको थियो ।
जसमा मिटर ब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पनि थियो । सोही सहमति अनुसार आयोग गठन गरिएको हो ।
Leave a Reply