विभेद अन्त्यका लागि दलित महिला पत्रकारहरूको महाकाली-मेची साइकल यात्रा

अमिर रामदाम
  १६ बैशाख २०८०, शनिबार १९:२५

चितवन ।  “सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय समानता र आत्म सम्मानका लागि महाकाली-मेची साइकल यात्रा २०८०” भन्ने नारासहित तीनजना दलित महिला पत्रकारले सुरु गरेको साइकल यात्रा १० औं दिनमा शुक्रबार राती चितवन आईपुगेको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रीय सचिव रीता विश्वकर्मा बुढाथोकी (रुपन्देही), संघकी लुम्बिनी प्रदेश समिति सदस्य इन्दिरा विश्वकर्मा (नवलपरासी) र संघकी अर्घाखाँची शाखा सदस्य संगीता नेपाली (अर्घाखाँची) ले वैशाख ६ गते कञ्चनपुरको गड्डाचौकीबाट यात्रा सुरु गरेका थिए । 

साइकल यात्रीहरूलाई राष्ट्रिय दलित पत्रकार संघ, नेपाल  चितवन शाखाले आज शनिबार जिल्लामा औपचारिक रुपमा स्वागत तथा अन्तरक्रिया गरेको छ । शुक्रबार राती चितवन आईपुगेकोमा शाखाले आज बिहान उहाँहरुसँग अन्तरक्रिया तथा एक कार्यक्रमकाबीच औपचारिक स्वागत गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ साइकल यात्री संघकी केन्द्रीय सचिव बुढाथोकीले भुईँमान्छेको आवाज लेख्ने मान्छे पत्रकार भए पनि हाल यो मर्म बदलिएकोमा चिन्ता व्यक्त गर्नुभयो  । साइकल यात्रामा रहँदा आफूहरुलाई हरेक क्षेत्रका समस्याहरु नजिकबाट बुझ्ने मौका मिलेको र यो अनुभवले पत्रकारीतामा थप कर्म गर्न उत्साहित बनाएको उहाँको भनाई थियो । उहाँले यात्रामा हरतवरले सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरी, कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश ज्ञावालीले महिला पत्रकारले गर्नुभएको यो कष्टपूर्ण यात्राले साहस झल्काएको बताउनुभयो । महिला त्यसमा पनि दलित समुदायका महिला पत्रकारको यो अभियानले सकारात्मक सन्देश दिने बताउँदै सफलताको कामना गर्नुभयो । साइकल यात्रीहरूलाई संघको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो। 

साइकल यात्राको सो अभियान आज ११ औँ दिन पनि जारी छ । होटल ह्याप्पी होम कमलनगर, नारायणगढमा  भएको उक्त कार्यक्रम पश्चात यात्रीहरु हेटौँडातर्फ लाग्नुभएको छ । आजबाट भने यात्रामा वरिष्ठ  महिला फोटो पत्रकार उषा तितिक्ष समेत यात्रामा जोडिनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाका अध्यक्ष अमिर रामदामको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई संघका सचिव श्याम वि.कले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *