विकल पौडेल र सफल श्रेष्ठलाई आठ वर्ष कैद, ३ करोड ४२ लाख जरिवाना

समतापोष्ट
  १३ मंसिर २०८१, बिहीबार १७:२३

काठमाडौं : अन्तःशुल्क स्टिकर छपाई मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई आठ वर्ष कैद सजाय सुनाइएको छ। साथै जनही ३ करोड ४२ लाख जरिवाना निर्धारण गरिएको छ।

विशेष अदालतले बिहीबार पौडेल र श्रेष्ठलाई जनही आठ वर्ष कैद सजाय तथा ३ करोड ४२ लाख २२ हजार ८०० जरिवानाको फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय खुसीप्रसाद थारु तथा रितेन्द्र थापाको इजलासले उक्त सजाय निर्धारण गरेको हो।

गत कात्तिक १४ गते विशेष अदालतले उनीहरूलाई कसुर ठहर गरेको थियो।

यही मुद्दामा जोडिएका तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्याल र एक कम्पनीसहित १० प्रतिवादीले भने सफाइ पाएका थिए ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ व्यक्ति र १ कम्पनीसहित १२ प्रतिवादीविरुद्ध ​दायर गरेको मुद्दामा २ जना मात्रै दोषी ठहर भएका हुन् ।

स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्माले पनि विशेषबाट सफाइ पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *