काठमाडौँ : संविधानको धारा १६ मा,’प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’भनिएको छ। धारा १८ मा,’सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानुनको संरक्षणबाट वञ्चित गरिनेछैन,’भनिएको छ।
संविधानमा भएको यो व्यवस्था कार्यान्वयन भने भएको पाइँदैन। देशका कुनै पनि अदालतमा समान लिङ्गका जोडीले कोर्ट म्यारिज गर्न पाउँदैनन्। सर्वोच्च अदालतले १२ असार २०८० मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो।
तर, सर्वोच्च अदालतको आदेश जिल्ला अदालतहरूले कार्यान्वयन गरेका छैनन्। ‘यो आदेश अदालतलाई होइन,विवाह दर्ता अदालतमा हुँदैन, दर्ताद्वारा विवाह हुने हो,विवाह दर्ताका लागि स्थानीय पञ्जीकाधिकारीकोमा जानु,’अदालतले दिने जवाफ यस्तै छ।
सर्वोच्चको आदेश अनुसार जिल्ला अदालत पुग्ने समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी जोडीको विवाहलाई वैधानिकता दिइँदैन। विवाह भएको प्रमाण पाउँदैनन्। अदालतले विपरतलिंगी जोडीको विवाह मात्र दर्ता गर्दै आएको छ।
मुलुकी देवानी संहिता २०७४ मा समानलिंगीका जोडीको विवाह भएको मानिने र राज्यका निकायमा दर्ता हुने प्रावधान छैन। त्यही प्रावधानलाई देखाएर २८ असार २०८० मा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह दर्ता गर्ने आदेश दिएनन्।
घर, परिवार र समाजमा पहिचान खुलाउन नसकेका जोडीहरूको विवाह दर्ता अदालतमा हुने बाटो खोल्न माया र सुरेन्द्रले गरेको पहिलो प्रयास काठमाडौँ जिल्ला अदालतले सफल हुन दिएन। उनीहरू विवाह दर्ता नगर्ने आदेश लिएर पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगे।
२९ असारमा दर्ता भएको पुनरावेदन निवेदनको आदेश आउन तीन महिना लाग्यो। १८ असोजमा न्यायाधीश महेश शर्मा पौडेल र गोकर्ण डाँगीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरेन। सदर गर्यो। कोर्ट म्यारिज गर्ने माया र सुरेन्द्रको चाहना पुरा हुन पाएन।
सर्वोच्च अदालतमा २४ जेठ २०८० मा रिट निवेदन दर्ता गरेका ९ जोडी मध्ये एक हुन् माया र सुरेन्द्र। रिट निवेदक मध्येका एक मनोरञ्जनकुमार वैद्यको निधन भएको छ। रिट दर्ता गर्ने अरू जोडीले अदालतमा विवाह दर्ता गर्ने निवेदन नै दिएका छैनन्।
नवलपुर जिल्ला अदालतले त विवाह दर्ताको निवेदन नै लिएन। दरपिठ पनि गरेन। श्रेष्तेदार गम्भीर घिमिरेले समलिङ्गी जोडी सम्पूर्ण अधिकारी र हिमा गुरुङ्गको निवेदन नै फिर्ता गरिदिए। नेपालमा समान लिङ्गका जोडी अदालतमा विवाह दर्ता गर्न नपाउँदा संविधानमा लेखिएको मौलिक हक उपभोग गर्नबाट वञ्चित भएका छन्।
स्थानी तहमा दर्ता
माया र सुरेन्द्र यस्तो जोडी हुन्,उनीहरूले विवाह दर्ताका लागि सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सरकारी निकाय गुहारे। संविधान सभा सदस्य सुनिलबाबु पन्तको पहल र सहयोगमा लमजुङको दोर्दी गाउँपालिका वडा नं २ अर्चलबोट जुन ठाउँ मायाको स्थायी बसोबास समेत हो,त्यहाँ उनीहरूले ७ मङ्सिरमा विवाह दर्ताको निवेदन दिए।
विवाह दर्ता गरिदिन स्थानीय तहले सङ्घीय सरकारबाट परिपत्र आउनु पर्ने सर्त राख्यो। गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतले विवाह दर्ता गर्न मिल्ने भए के कस्तो प्रक्रिया छ? भनेर गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा पत्र पठाए।
माया र सुरेन्द्रको विवाह दर्ताका लागि दोर्दी पुगेका पन्तले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पहल गरे। सिस्टम मिलाउनु पर्ने भन्दै विभागले केही दिन समय लियो। १३ मङ्सिरमा विभागले पत्र पठायो दोर्दीमा, माया र सुरेन्द्रको विवाह दर्ता गरिदिनु भनेर।
विभागले परिपत्र गरेकै दिन माया र सुरेन्द्रलाई कानुनी रूपमा विवाह दर्ता गरी गाउँपालिकाले प्रमाणपत्र हस्तान्तरण गर्यो। सामाजिक सञ्जाल हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ब्रेकिङ समाचार सम्प्रेषण गरे। अर्चलबोट सल्लागाउँ आमा समूहले माया र सुरेन्द्रको विवाह दर्ता भएको खुसीयालीमा रातभर नाचगान गरे।
नेपाल दक्षिण एसियामै इन्द्रेणी विवाह दर्ता गर्ने पहिलो मुलुक र एसियामा ताइवान पछि दोस्रो देश बनेको समाचार छ्यापछ्याप्ती फैलियो। नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि सम्मानित र सुरक्षित देश रहेको सन्देश प्रवाह भयो।
माया, सुरेन्द्र सहितका समुदायका सदस्यहरूले स्थापना गरेको मायाको पहिचान नेपाल गैरसरकारी संस्थाले नेपालमा पहिलो पटक नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्यो। मिस्टर गे नेपाल गरेर उपाधिसँगै नगद पुरस्कार प्रदान गर्यो।
इन्द्रेणी विवाह दर्ताको एक वर्ष, समुदायका लागि महत्त्वपूर्ण उपलब्धि
कैलालीको कैलारी गाउँपालिकामा अर्को इन्द्रेणी विवाह दर्ता भयो। त्यसका लागि भने विभागको परिपत्र नै आवश्यक परेन। जैविक लिङ्ग समान नभएकाले विवाह दर्ता प्रमाणपत्रमा पनि अस्थायी लेखिएन। तर, तेस्रोलिंगी जोडीको विवाह दर्ता भएको प्रचार भने भयो।
२८ माघ २०८० मा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ मा पहिलो लेस्बियन जोडीको विवाह दर्ता भयो। अन्जुदेवी श्रेष्ठ (दिप्ती) र सुप्रिता गुरुङको विवाह दर्ताका लागि मायाको पहिचान नेपालले आवश्यक सहयोग पुर्यायो। नेपालगन्जमा पत्रकार सम्मेलन गरेर विवाह दर्ताका लागि ढोका खुलेको सन्देश प्रवाह गर्न मायाको पहिचान नेपाल सफल बन्यो।
हरेक जोडीका लागि परिचयपत्र तथा पञ्जीकरण विभाग धाउनु पर्ने अवस्था अन्त्यका लागि मायाको पहिचान नेपालका कार्यकारी निर्देशक, इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत समेत रहेका संविधान सभा सदस्य पन्तले ७५३ वटा स्थानीय तहलाई परिपत्र गरिदिन आग्रह गर्दै निवेदन दिए।
विभागले निवेदनको सुनवाइ गर्यो र १२ वैशाख २०८१ मा विवाह दर्ताका लागि ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गर्यो। सर्वोच्च अदालतको आदेश, विवाह दर्ताको फारम समेत राखेर परिपत्र गरेपछि २ भदौ २०८१ मा पाल्पाको रामपुर नगरपालिका वडा नं. ९ मा अर्को लेस्बियन जोडी ज्योति सार्की र चिना कुमारी नेपालीले विवाह दर्ता गरे।
९ असोज २०८१ मा कास्कीको रुपा गाउँपालिका वडा नं ५ को कार्यालयमा इन्द्रेणी विवाह दर्ता भयो । अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएका रुपा गाउँपालिकाका लक्ष्मी सिलवाल (राज) र पोखरा महानगरपालिका वडा नं ८ का अञ्जली थापाले विवाह दर्ता प्रमाणपत्र पाए।
हाल स्थानीय तहले नेपाली समलिङ्गी तेस्रोलिंगीले विदेशी समलिङ्गीसँग गरेको विवाह पनि दर्ता गर्न थालेका छन्। नवलपुरको देवचुली नगरपालिकाले समलिङ्गी जोडी नेपाली नागरिक सम्पूर्ण अधिकारी र अमेरिकी नागरिक हिमा गुरुङ्गको विवाह दर्ता गरेको छ।
१३ असोज २०८१ मा नवलपुरको देवचुली नगरपालिका वडा नं ३ मा सम्पूर्ण र हिमाको विवाह दर्ता भयो। त्यसपछि नेपाली र विदेशी समलिङ्गी जोडीको विवाह दर्ता स्थानीय निकायमा हुने बाटो खुल्यो।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ मा प्रजित बुढाथोकी र अमेरिकी नागरिक जोसेफ फोस्टर एलिसको गत असोजमा विवाह दर्ता भयो। कार्तिक २९ मा बाँकेको कोहलपुर वडा नं १४ मा सन्जु विक र रिचा सुनारले पनि कानुनी रूपमा इन्द्रेणी विवाह दर्ता गराएका छन्।
माया र सुरेन्द्रको सङ्घर्ष, सुनिलबाबु पन्तको पहलमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकामा इन्द्रेणी विवाह दर्ता हुन थालेको छ,अस्थायी अभिलेख रहने गरी। पञ्जीकरण विभागको अनलाइन सिस्टममा प्रविष्ट हुन भने सकेको छैन। त्यसैले इन्द्रेणी विवाह दर्ता गर्ने जोडीहरूको तथ्याङ्क आउन सकेको छैन।
Leave a Reply