अध्यादेश ल्याउनु प्रतिगमनतिरको पाइला : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामूहिक विरोध गर्ने बताएका छन्।

मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले संसदमा रहेको विधेयक फिर्तासमेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाए।

उनले सरकार प्रतिगमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामूहिक रुपमा सदनमा प्रस्तुत हुनेसमेत बताए।

उनले वर्तमान सरकार जनता र राष्ट्रविपरीतको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको समेत बताए। उनले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साधेको आरोप समेत लगाए।

उनले भने, ‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निङ्कुश तरिकाले ल्याएको छ। आफैंले भन्ने गरेको मान्यताविपरीत सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जबरजस्ती जो अध्यादेश ल्याउने काम भएको छ, यो स्वेच्छाचारी र निरङ्कुश छ। यो प्रतिगमन तिरको यात्राको पाइलाहरु नै हो भन्ने महसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन बाध्य छौँ र बोलाउँछौँ भनेपछि मात्रै सरकारले बल्ल सदन बोलाएको छ।’

उनले थपे, ‘हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एकपटक बैठक बसेर सामूहिक ढंगले कसरी सदनमा प्रस्तुत हुने, सकारले जनताको इच्छाविपरीत र राष्ट्रविरोधी क्रियाकलापहरु र देशमा आर्थिक संकट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ। आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साध्ने जुन काम भएको छ, त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोशिस पनि हामीले गरेका छौँ’

प्रतिक्रिया दिनुहोस