काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो ।
रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाका सांसद ठानिएको बताए । उनले भने, हामीलाई दोस्रो दर्जाका सांसदहरू ठानियो । हामी यो बैठक १५ मिनेटको लागि बहिष्कार गर्छौं ।
रास्वपा सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै रास्वपाले अवरोध गरेको थियो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको हो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बोल्न पाऔुं भनेर समय माग गरेका थिए । सांसद सोबिता गौतमले भनिन्, हाम्रा केही विषय छन्, विनम्रतापूर्वक विषय राख्न चाहन्छौं । समय चाहियो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग दोहोरो संवाद गर्न नचाहेको र समय उपलब्ध हुनुपर्ने माग गरेका थिए ।
सभामुख घिमिरेले भने बस्नका लागि आदेश जारी गरेका थिए । बस्नका लागि आदेश गर्दछु, बस्नुस् । समय चाहिएमा थप समय दलीय आधारमा बोल्दा उपलब्ध गराउँदछु, सभामुखको आदेश थियो । सभामुखले रास्वपा सांसदहरू उभिएकै बेला कार्यसूचीमा प्रवेश गर्न चाहेपछि रास्वपा सांसदहरूले टेबुल बजाएर विरोध गरेका थिए ।