इन्टरपोलको समन्वयमा अपराध गरेर विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो


काठमाडौं । नेपाल प्रहरीले स्वदेशमा अपराध गरी विदेश भागेका १० जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ ।

चालू आर्थिक वर्षमा ११ विरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले बताए ।

अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकामा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।

इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीलाई पक्राउ गर्न एवं अन्तरराष्ट्रिय स्तरमा फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी क्रियाशील रहेको बताउँदै उनले अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको दाबी गरे।
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, निर्वाध ढंगले निर्वाचन सम्पन्न गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति अवलम्बन गरी कार्यक्षेत्रमा जुटेको प्रवक्ता काफ्लेको भनाइ छ ।

फरार प्रतिवादीको अन्तरराष्ट्रिय स्तरमा खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ