धरहराको पार्किङ र सुरक्षा व्यवस्थापनका लागि महानगरमा बन्यो संयुक्त समिति


काठमाडौँ । ऐतिहासिक धरहरा क्षेत्रमा नवनिर्मित संरचनाभित्रको सवारी साधन पार्किङ र सुरक्षा व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले सम्हाल्ने भएको छ। शुक्रबार सुन्धारामा बसेको नेपाल सरकार र महानगरको संयुक्त बैठकले पार्किङ सञ्चालनलाई प्रभावकारी बनाउन महानगर प्रहरी बल परिचालन गर्ने निर्णय गरेको हो।

बैठकले धरहराको सञ्चालनका लागि तत्काल र दीर्घकालीन योजना तयार पार्न सहरी विकास मन्त्रालय र महानगरका पदाधिकारी सम्मिलित एक संयुक्त समिति गठन गरेको छ। यस समितिले परियोजना सञ्चालनको मोडालिटीबारे अध्ययन गरी सुझाव पेश गर्नेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको बाहिरी संरचनाको उपयुक्त व्यवस्थापन गर्ने जिम्मा महानगरलाई दिइएको जानकारी दिँदै समग्र धरहरा सञ्चालन नै पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न सरकारसँग आग्रह गरिएको बताइन्।

सहरी विकास मन्त्री कुमार इङ्नामले सुन्धाराको बाह्य स्वरूप व्यवस्थापनको सम्पूर्ण आर्थिक दायित्व महानगरले बेहोर्ने गरी सहमति भएको जानकारी दिए। उनले पार्किङ र सुरक्षाको काम महानगरले तत्कालै सुरु गर्ने उल्लेख गर्दै महानगरको माग बमोजिम व्यवस्थापन हस्तान्तरणका लागि आवश्यक मोडालिटी तयार पार्न समितिले काम गर्ने बताए।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यो निर्णयसँगै सुन्धारा क्षेत्रको पार्किङ समस्या समाधान हुने र धरहरा परिसरको सुरक्षा तथा सरसफाइमा सुधार आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ