इरान आक्रमणपछि मध्यपूर्वका देश तनावग्रस्त


एजेन्सी । मध्यपूर्व क्षेत्रमा फेरि ठूलो सैन्य द्वन्द्व चर्किएको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि व्यापक हवाई र क्षेप्यास्त्र आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वका विभिन्न सहर तथा अमेरिकी सैन्य अखडाहरूलाई लक्ष्य गरी जवाफी हमला गरेको छ। यस घटनाले क्षेत्रीय सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ भने विश्वभर चिन्ता बढाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एबीसी न्यूजसँगको कुराकानीमा इरानमाथिको संयुक्त कारबाहीले “निकै ठूलो क्षति” पुर्‍याएको र इरानी नेतृत्व तहका “धेरै मानिसहरू” समाप्त भएको दाबी गरेका छन्। उनले इरानको आगामी नेतृत्वबारे आफूहरूलाई जानकारी रहेको बताउँदै सैन्य कारबाही आवश्यकतासम्म जारी रहने संकेत दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेई “नरहेको जस्तो” अवस्था देखिएको टिप्पणी गरेका छन्। भूउपग्रह तस्बिरहरूमा तेहरानस्थित खामेनेईको कार्यालय परिसरका केही संरचनामा क्षति देखिएको बताइएको छ। यद्यपि उनको अवस्थाबारे इरानले आधिकारिक पुष्टि गरेको छैन। इरानी विदेशमन्त्री अब्बास अरागचीले खामेनेई जीवित रहेको आफूलाई जानकारी भएको बताएका छन्।

इजरायलको व्यापक हवाई आक्रमण : 
इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार करिब २०० लडाकु जेट विमानले इरानका पश्चिमी र मध्य क्षेत्रमा रहेका क्षेप्यास्त्र संरचना तथा प्रतिरक्षा प्रणालीमा ठूलो स्तरको हमला गरेका छन्। आईडीएफले यसलाई आफ्नो इतिहासकै सबैभन्दा ठूलो सैन्य उडान भएको जनाएको छ। लगभग ५०० लक्ष्यमा सयौँ अस्त्र प्रहार गरिएको र इरानको आक्रामक क्षमता गम्भीर रूपमा कमजोर बनाइएको दाबी गरिएको छ।

इजरायलका रक्षामन्त्रीले इरानबाट सम्भावित आक्रमण रोक्न “पूर्वप्रतिरक्षात्मक कारबाही” गरिएको बताएका छन्। उनले देशमा विशेष तथा स्थायी सङ्कटकाल घोषणा गरिएको जनाउँदै नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्। इजरायलभरि हवाई हमलाको चेतावनी साइरन बजाइएको थियो भने गैरसैनिक उडानहरू स्थगित गरिएका छन्।

इरानमा ठूलो मानवीय क्षति भएको दाबी : 
इरानी सञ्चारमाध्यमहरूले हर्मोजगान प्रान्तको मिनाव काउन्टीस्थित प्राथमिक छात्रा विद्यालयमा भएको आक्रमणमा ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको उल्लेख गरेका छन्। शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरिएको भए पनि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

यसैबीच, इरानका विभिन्न ३१ प्रान्तमध्ये २४ वटामा हवाई आक्रमण भएको र कम्तीमा २०१ जनाको मृत्यु तथा ७४७ जना घाइते भएको विवरण इरानी रेड क्रेसन्टले जनाएको समाचारमा उल्लेख छ। तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यस तथ्याङ्कको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन्।
आक्रमणपछि इरानको हवाई क्षेत्र बन्द गरिएको छ भने देशव्यापी इन्टरनेट अवरुद्ध भएको जनाइएको छ। तेहरानलगायत विभिन्न सहरमा ठूला विस्फोटका आवाज सुनिएको र धुवाँको मुस्लो देखिएको तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए ।

इरानको जवाफी हमला : मध्यपूर्वभर विस्फोट :
अमेरिका–इजरायलको आक्रमणपछि इरानले पनि जवाफी कारबाहीस्वरूप मध्यपूर्वका विभिन्न सहरमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ। इरानले दुबई, दोहा, बाहरेन, कुवेत लगायत स्थानमा रहेका अमेरिकी सैन्य अखडालाई लक्ष्य बनाएको विवरण बाहिर आएको छ।

कतारको दोहास्थित अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोट भएको रिपोर्ट छ। इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै ड्रोन खसालिएको र अमेरिकी प्रतिरक्षा प्रणालीले त्यसलाई निष्क्रिय पारेको बताइएको छ।
जोर्डनले आफ्नो क्षेत्रमा प्रवेश गरेका दुई बलिस्टिक क्षेप्यास्त्र खसालेको जनाएको छ। इजरायलले पनि देशभर इरानी क्षेप्यास्त्रहरूको लहर आएको र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको बताएको छ। साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको थियो।

दुबई र खाडी क्षेत्रमा विस्फोट :
संयुक्त अरब इमिरेट्सको दुबईस्थित फेअरमोन्ट द पाम होटल परिसरमा विस्फोट भएको भिडियो सार्वजनिक भएको छ। उक्त घटनामा चार जना घाइते भएको जनाइएको छ। भिडियोमा होटलको प्रवेशद्वार नजिक क्षेप्यास्त्र खसेर ठूलो आगोको मुस्लो निस्किएको देखिन्छ। युएईको रक्षा मन्त्रालयले इरानी ड्रोन तथा क्षेप्यास्त्रहरूको नयाँ लहर रोकिएको दाबी गरेको छ।

कतारको आवासीय क्षेत्रमा पनि क्षेप्यास्त्र खसेको भिडियोमा देखिएको छ, जहाँ ठूलो आगो र धुवाँ निस्किएको तथा सर्वसाधारण भागाभाग गरेको दृश्य सार्वजनिक भएको छ। कतार सरकारले आफ्नो भूभागमा क्षेप्यास्त्र खस्नु राष्ट्रिय सार्वभौमिकतामाथिको उल्लंघन भएको भन्दै इरानको कडा निन्दा गरेको छ।

कुवेतमा पनि विस्फोटको आवाज सुनिएको र अली अल–सलेम हवाई अखाडालाई लक्षित गरिएको विवरण आएको छ। कुवेत सिटी नजिकको क्षेत्रमा साइरन बजाइएको र विद्यालयहरू बन्द गरिएको जनाइएको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया :
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयनले इरानविरुद्ध प्रतिबन्ध जारी राख्ने भन्दै सबै पक्षलाई संयम अपनाउन र अन्तर्राष्ट्रिय कानुन पालना गर्न आग्रह गरेकी छन्। अष्ट्रेलियाका प्रधानमन्त्रीले इरानी जनतासँग ऐक्यबद्धता जनाउँदै परमाणु अस्त्र रोक्न अमेरिकासँग सहकार्य रहने बताएका छन्।

बेलायतले क्षेत्रीय अवस्थालाई ध्यान दिँदै आफ्ना नागरिकलाई सतर्क रहन निर्देशन दिएको छ भने आवश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ। जर्मनी, फ्रान्स, चीन, भारत र क्यानडालगायत देशहरूले आफ्ना नागरिकलाई इरान तथा इजरायल छोड्न सुझाव दिएका छन्।

रुसले भने अमेरिका र इजरायलको कारबाहीलाई “गैरजिम्मेवारपूर्ण” भन्दै अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको टिप्पणी गरेको छ र कूटनीतिक समाधानको आह्वान गरेको छ।

विगतका तनाव र पुनरावृत्ति : 
आठ महिना अघि पनि इजरायल र इरानबीच १२ दिनसम्म भीषण द्वन्द्व चलेको थियो। त्यसक्रममा इजरायलले इरानका सैन्य तथा परमाणु स्थलमा बमबारी गरेको थियो भने इरानले सयौँ क्षेप्यास्त्र र ड्रोनमार्फत प्रतिकार गरेको थियो।

त्यतिबेला अमेरिकाले पनि भूमिगत परमाणु केन्द्रमा आक्रमण गरेको बताइएको थियो।
दुवै देशबीच दशकौँदेखिको शत्रुता र क्षेत्रीय प्रभावको प्रतिस्पर्धाले बारम्बार सैन्य टकराव निम्त्याउँदै आएको छ। इरानले मध्यपूर्वमा सक्रिय कतिपय सशस्त्र समूहलाई समर्थन गर्दै आएको आरोप इजरायल र अमेरिकाले लगाउँदै आएका छन्।

हालको आक्रमणपछि मध्यपूर्वभर त्रास फैलिएको छ। अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्, नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ, र कूटनीतिक प्रयास पुनः सुरु गर्ने दबाब बढेको छ। यदि अवस्था थप बिग्रिएमा यसले व्यापक क्षेत्रीय द्वन्द्वको रूप लिन सक्ने विश्लेषण गरिएको छ। (अन्तराष्टिय सञ्चारमाध्यमकाे सहयाेगमा)


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ