इनिसा विक हत्या प्रकरणको अनुसन्धान वैज्ञानिक विधिबाट


सुर्खेत : १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भनिएको घटनामा प्रहरीले वैज्ञानिक विधिबाट अनुसन्धान अघि बढाएको छ।

यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पोलिग्राफ विशेषज्ञ र सीडीआर विश्लेषकसहितका टोली अनुसन्धानमा खटिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार बिहीबारदेखि नै उक्त टोली सुर्खेत पुगेर घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा अभियुक्तहरूको बयान परीक्षणका लागि पोलिग्राफ प्रयोग गरिनुका साथै मोबाइल र अन्य प्रमाणहरू फरेन्सिक परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

पोस्टमार्टम रिपोर्टमा जबर्जस्ती करणीका क्रममा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हुन सक्ने उल्लेख गरिएको छ।

घटनाबारे थप स्पष्ट निष्कर्ष निकाल्न टक्सिकोलोजिकल र बायो–सेरोलोजिकल परीक्षणको रिपोर्ट कुरिरहेको प्रहरीले जनाएको छ।

हालसम्मको अनुसन्धानमा मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

परिवार र अधिकारकर्मीहरूले सामूहिक बलात्कार भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ